बैंकिङ खबर । सरकारी जागीर ! त्यो पनि बैंकिङ क्षेत्रमा ? रहर सबैलाई हुन्छ, तर सहज भने छैन । अझ राष्ट्र बैंकमा जागीर खान त झनै बढी मिहिनेत गर्नुपर्छ । राष्ट्र बैंक नेपालका बैंक तथा वित्तीय संस्थाहरुको नियामक निकाय हो । यसबाहेक पनि राष्ट्र बैंकका थुप्रै जिम्मेवारी हुन्छन् । मौद्रिक नीति जारी गर्ने, बजेटले लिएको लक्ष्य पूरा गर्न सरकारलाई सघाउने, सरकारको वित्तीय सल्लाहकारको रुपमा काम गर्ने, नोट निष्काशन गर्ने, वित्तीय संस्थामा तरलता सन्तुलन कायम गर्ने जस्ता थुप्रै जिम्मेवारी राष्ट्र बैंकको काँधमा हुन्छ । यस हिसाबले राष्ट्र बैंकमा काम गर्न चाहनेहरु पनि जिम्मेवारी बहन गर्न सक्नेहुनुपर्छ ।
त्यस्तै, सरकारी बैंकहरुमा काम गर्न पनि उत्तिकै जिम्मेवार हुनुपर्छ । नेपालमा सरकारी स्वामित्ममा रहेका कृषि विकास बैंक, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकका साथै नियामक राष्ट्र बैंकको पदपूर्तिका लागि लोकसेवा आयोगले परीक्षा संचालन गर्छ । विभिन्न चरणमा परीक्षा र अन्तर्वार्ता पास गरेपछि मात्रै जागीर खान पाइन्छ । यसका लागि वित्तीय क्षेत्र सम्बन्धी गहिरो ज्ञान चाहिन्छ । इतिहासदेखि वर्तमानसम्मका वित्तीय गतिविधि, विकास एवम् विद्यमान अवस्थाका बारेमा जानकारी हुनुपर्छ ।
परीक्षाका लागि निश्चित पाठ्यक्रम तोकिएको हुन्छ । पाठ्यक्रमअनुसारका पुस्तक र तयारी गराउने इन्स्टिच्युटहरु पनि प्रशस्त छन् तर मिहिनेत तपाईँ आफैँले गर्नुपर्छ । मिति, नाम, पद जस्ता कुराहरु याद गर्ने तरिका होस् वा विषयगत परीक्षामा लेख्ने तरिकाका आफैँ विकास गर्नुपर्छ । अभ्यास गर्नुपर्छ । परीक्षा पास भएर जागी खाएपछि पनि अपडेटेड भइरहनुपर्छ । अन्तरवार्ता सकेर छनौट भएकाअरु पनि तालिमका क्रममा राम्रो गर्न नसकेर फर्किनुपरेका उदाहरणहरु समेत छन् । त्यसैले, एकदमै ध्यान दिएर तयारी गर्नुपर्छ ।
बैंकहरुले कर्मचारी माग्दा सुरुमै ठूलो पदको नभई सहायक स्तरमा कर्मचारी माग्छन् र पछि पदोन्नति गर्छन् । यसका लागि पनि सक्षम हुनुपर्छ । राम्रा गर्न नसके बढुवाको सट्टा घटुवा वा सरुवा हुन सक्छ । धेरैले, बैंकि नलेजका लागि धेरै मिहिनेत गर्नुपर्छ । बैंकिङ क्षेत्रसम्बन्धी हरेक गतिविधिमा चासो राख्नुपर्छ । आर्थिक पत्रपत्रिका पढ्ने बानी गर्नुपर्छ । राष्ट्र बैंकका गतिविधिहरु, व्याजदरको अवस्था, बैंकिङ प्रविधिहरु, अन्तर्राष्ट्रिय स्तरमा बैंकिङ क्षेत्रको विकास, छिमेकी मुलुकहरुको तुलनात्मक अध्ययन जस्ता विषयमा ध्यान दिनुपर्छ । अर्थविद्, गभर्नरहरुको अन्तर्वार्ता पढ्ने वा सुन्ने गर्नुपर्छ । सकेसम्म धेरै स्थानबाट नलेज हासिल गर्नेतर्फ लाग्नुपर्छ ।
तपाईँको एउटा कमजोरी अर्कोको लागि फाइदा मूलक बन्न सक्छ । थोरै पदका लागि धेरै जनाको आवेदन परिरहेको हुन्छ । तपाईँ जस्तै सरकारी र केन्द्रीय बैंकमा जागीर खानका लागि देशभरिका युवाहरुले तयारी गरिरहेका हुन्छन् । सबैभन्दा उत्कृष्ट बन्ने हिसाबले तयारी गरियो भने मात्रै राष्ट्र बैंक वा सरकारी बैंकहरुमा जागीर खान सम्भव छ । तपाईँ सक्षम हुनुहुन्छ भने पक्कै पनि जागीर पाउनुहुन्छ ।