बैंकिङ खबर । बैंकिङ क्षेत्रमा जागीर खान चाहनेको जमात ठूलो छ । त्यहाँमाथि नेपाल राष्ट्र बैंकमा त छुट्टै आकर्षण छ । राष्ट्र बैंकले हरेक वर्ष नयाँ कर्मचारी मागिरहेको हुन्छ । यस वर्ष पनि मागेको छ । हालै ६७ जनाको लागि भ्याकेन्सी खुलाएको छ ।
तपाईँ पनि राष्ट्र बैंकमा जागीर खानको लागि तयारी गरिरहनुभएको छ ? यदि छ भने याद गर्नुहोस्, तपाईँसँगै हजारौँले एकै पदका लागि एप्लाई गरेका हुन्छन् । तपाईँको तयारी एपदमै उच्च हुनुपर्छ । धेरैमध्येबाट तपाईँलाई किन छान्ने त ? त्यो प्लस पोइन्ट तपाईँमा हुनुपर्छ ।
भ्याकेन्सी खोलेको एक महिनाभन्दा बढी समयमा लिखित परीक्षा हुन्छ । त्यसैले, तपाईँलाई पढ्ने समय हुन्छ । तर, भ्याकेन्सी खुलेपछि मात्रै पढ्छु भन्दा तपाईँ पछि पर्न सक्नुहुन्छ । त्यसैले, पहिलेदेखि नै तयारी गरिरहनुपर्छ । बैंकिङ क्षेत्रमा भएका नयाँ गतिविधिहरु, ऐन कानुन र त्यसको संशोधन लगायतका विषयमा अध्ययन गरिरहनुपर्छ । साथमा सामान्य ज्ञानतर्फ पनि ध्यान दिनुपर्छ । समाचारहरु हेर्ने गर्नुपर्छ । राष्ट्र बैंक, गभर्नर, अर्थमन्त्री लगायतका गतिविभि नियालिरहनुपर्छ ।
परीक्षामा सोधिने प्रश्नहरुको नमुना र पाठ्यक्रम समेत राष्ट्र बैंकको वेभसाइटमा नै हुन्छ । पाठ्यक्रमभित्र रहेर नै अध्ययन गर्दा पुग्छ । तर, पाठ्यक्रममा समावेश विषयहरुको एकदमै गहिराईमा गएर अध्ययन गर्नुपर्छ । बहुवैकल्पिक परीक्षाका लागि यसको आवश्यकता पर्छ । विषयगत परीक्षाका लागि लेख्ने बानी पनि गरिरहनुपर्छ । यसका लागि नमुना प्रश्नहरु लेखेर अभ्यास गर्दा राम्रो हुन्छ ।
विश्लेषणात्मक प्रश्नका लागि लेखहरु पढ्ने, अर्थविदहरुको अन्तर्वार्ता हेर्ने, अन्तर्राष्ट्रिय स्तरमा वित्तीय क्षेत्रको अवस्था अवलोकन गर्ने र आफ्नो देशको अवस्थासँग तुलना गर्ने गर्नुपर्छ । आजकाल मिडियाहरुले बैंकिङ क्षेत्रलाई फोकस गरेर सामग्री प्रकाशन प्रशारण गर्ने गरेका छन् । त्यसले तपाईँलाई मद्दत पुग्न सक्छ ।
पाठ्यक्रम अनुसार प्रकाशित थुप्रै पुस्तकहरु बजारमा पाइन्छन् । एकदमै आधिकारिक पुस्तक छानेर किन्नुपर्छ । सकेसम्म धेरैतिरबाट जानकारी लिने प्रयास गर्नुपर्छ, ताकि केही कुरा पनि नछुटोस् । एउटा सिटको लागि हजारौँले मिहिनेत गरेका हुन्छन् । इन्स्टिच्युट गएर पढिरहेका हुन्छन् । ती हजारौँलाई जित्ने क्षमता विकास गर्नुपर्छ ।
लिखित परीक्षा पास भएपछि पनि अन्तर्वार्ताका क्रममा फलिन सक्छ । आत्मविश्वासका साथ आफ्नो जवाफ राख्ने क्षमताको विकास गर्नुपर्छ । त्यसका लागि लिखित परीक्षा सकियोस् वा रिजल्ट आओस् भनेर पर्खिनु हुँदैन । किनकि, लिखित परीक्षाको रिजल्ट आएपछि थोरै समय बाँकी हुन्छ । परीक्षा र रिजल्ट बीचको टाइममा पहिले पठेका कुरा विर्सिसकेको हुन सक्छ वा धेरै नयाँ कुराहरु आइसकेको हुन सक्छ । त्यसैले, हरपल अपडेटेड रहनुपर्छ ।