अर्थमन्त्री युवराज खतिवडाले डुइङ बिजनेस रिपोर्टमा व्यवसाय सहजीकरणमा नेपालले थालनी गरेका सुधारका प्रयासहरू पूरै समावेश हुन नसकेको टिप्पणी गरेका छन् ।
नेपाल भ्रमणमा रहेका विश्व बैंकको टोलीसँग अर्थ मन्त्रालयमा बिहीबार भेट गर्दै अर्थमन्त्री खतिवडाले आगामी प्रतिवेदनमा नेपालको सुधार प्रयास समावेश भई स्थान अझ सुधार हुने विश्वास व्यक्त गरे । यो वर्ष विश्व बैंकले प्रकाशित गरेको डुइङ बिजनेस रिपोर्टमा नेपाल ११० औं स्थानबाट ९४ औं स्थानमा उक्लिएको छ ।
विश्व बैंकमा संसारभरका सम्पूर्ण सदस्य राष्ट्रहरूका तर्फबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि मण्डलसँगको भेटको क्रममा खतिवडाले नेपालको समग्र आर्थिक, सामाजिक तथा जनसांख्यिक र वातावरणीय अवस्थाको जानकारी गराउँदै नेपालले हालैका वर्षहरूमा हासिल गरेको आर्थिक सामाजिक प्रगतिबारे जानकारी गराएका थिए ।
दूरसञ्चार सेवाबाट सुरु भएको विश्व बैंकसँगको सहकार्य ५० वर्ष पूरा भएको स्मरण गर्दै दिगो विकासका लक्ष्यहरू हासिल गर्न, पुनर्निर्माण, पर्यटन र पूर्वाधार विकास, वातावरण तथा पर्यावरणीय सुधार एवं विपद् व्यवस्थापनलगायत क्षेत्रमा विश्व बैंकको थप सहयोग आवश्यक रहको खतिवडाले बताए । ‘रोजगारीका अवसरहरू वृद्धि हुँदै गइरहेकाले नेपालको अर्थतन्त्रमा उत्साहको वातावरण सिर्जना भएको छ,’ उनले भने । वित्तीय क्षेत्र तथा ऊर्जा क्षेत्रको नीतिगत सुधारमा विश्व बैंकको सहयोगले सघाउ पुगेको र यसको अर्थतन्त्रमा सकारात्मक असर देखिन थालेको बताए । कान्तिपुर दैनिकमा प्रकाशित समाचार