Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

बैंकहरूलाई साइबर सुरक्षा बीमा गर्न निर्देशन दिने तयारीमा राष्ट्र बैंक

२०७६ कार्तिक १० गते

नेपाल राष्ट्र बैंकले बैंकहरूलाई साइबर सुरक्षा बीमा गर्न निर्देशन दिने तयारी गरेको छ । बैंकहरूले स्वतस्फूर्त रूपमा यस्तो बीमा नगरेपछि राष्ट्र बैंकले नै निर्देशन दिने प्रक्रिया अगाडि बढाएको हो । नेपालमा नै साइबर जोखिम सम्बन्धी बीमा सुविधा भए तापनि हालसम्म एउटा पनि बैंकले यस्तो बीमा गराएका छैनन् । नेपाल इन्स्योरेन्स कम्पनीले २०७५ साउनदेखि नै ‘साइबर रिक्स प्रोटेक्टर’ बीमालेख प्रचलनमा ल्याएको छ । तर, बीमासँग प्रत्यक्ष सम्बन्ध राख्ने बैंकहरूले अहिलेसम्म त्यस्तो बीमा गराएका छैनन् । अन्य प्रकारका बीमाको तुलनामा साइबर सुरक्षा बीमा महँगो हुने भएकाले यसप्रति बैंकहरू आकर्षित भएका छैनन् । 

राष्ट्र बैंकका अनुसार अहिले यस विषयमा आवश्यक अध्ययन गर्ने काम भइरहेको छ । आवश्यक नीतिगत व्यवस्था गरेर ढिलोमा पनि आगामी असार मसान्तसम्म निर्देशन जारी गर्ने राष्ट्र बैंकको तयारी छ । हाल बैंकहरूले बैंकिङ ब्लांक्वेट बीमा (बीबीआई) मार्फत आफ्नो सम्पूर्ण सम्पत्तिको बीमा गरेका छ छन् । तर, उक्त बीमालेखले साइबर सम्बन्धीको जोखिमलाई रक्षावरण गर्दैन । ‘बैंकहरूको साइबर जोखिम व्यवस्थापन गर्ने सिलसिलामा साइबर सुरक्षा बीमालाई समावेश गर्न लागेका हौं । तर, यो हाम्रो लागि नयाँ बिषय हो । त्यसैले अहिले नीतिगत र हुन सक्ने खर्चको विषयमा अध्ययन गर्दैछौं, आवश्यक प्रक्रिया पुगेपछि निर्देशन जारी हुनेछ,’ राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताए । उनका अनुसार नेपालको बीमा कम्पनीमा नै बैंकहरूले यस्तो बीमा गर्नुपर्ने गरी निर्देशन आउनेछ ।

गत भदौ १४ गतेको एटीएम ह्याकको घटनालाई अध्ययन गर्न बनेको समितिले पनि राष्ट्र बैंकलाइ साइबर सुरक्षाका लागि बीमा नीति ल्याउन सुझाव दिएको थियो । पछिल्लो समय बैंकिङ क्षेत्रमा साइबर हमला बढेको छ । गत भदौ १४ गते चिनियाँ ≈याकर समूहले यहाँका बैंकहरूको एटीएम नेटवर्क ह्याक गरेर रू. ३ करोड ५८ लाख ८४ हजार २० रुपैयाँ निकालेका थिए । त्यसमा नेपालबाट रू. १ करोड ८९ लाख ४४ हजार ५ सय र भारतबाट रू. १ करोड ७० लाख निकालिएको तथ्यांक नेपाल राष्ट्र बैंकले निकालिएको थियो । 

नेपालदेखि झिकिएको रकम पक्राउ परेका ६ चिनियाँ ह्याकर र २ मनी एक्सचेन्ज कम्पनीबाट बरामद भएको पैसा ‘रिकभर’ हुने देखिन्छ । तर, भारतबाट झिकिएको पैसा फिर्ता हुने विषयमा भने अझै अन्योलमा छ । 

यस्तै, गत असोजको पहिलो साता १२ जना नेपालीले कृषि विकास बैंकका कर्मचारीको युजरनेम ह्याक गरेर सोही बैंकको रू. ४ करोड ७३ लाख ९६ हजार रुपैयाँ चोरी गरेका थिए । प्रहरीले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । भारतको मुम्बईमा बस्ने पिटर नामक विदेशी नागरिकले उनीहरूलाई परिचालन गरेको शंका गरिएको छ । 

प्रहरीले पक्राउ गरेका नेपालीबाट रू. ४० लाख ५० हजार रकम मात्र बरामद गरेको थियो, जसअनुसार बाँकी पैसा फिर्ता हुने विषयमा भने अन्योल नै छ । यदि, उनीहरूले यस्तो साइबर बीमा गरेको भए बीमा कम्पनीबाट आर्थिक राहत पाउने थिए । 

त्यस्ता घटना भएपछि बैंकहरूको साइबर सुरक्षा बीमा गर्न विषयमा राष्ट्र बैंक अगाडि बढेको हो, जसले आगामी दिनमा हुनसक्ने साइबर हमलाको घटनामा केही राहत मिल्नसक्छ । 

त्यसो त पछिल्लो समय बैंकहरू साइबर बीमा गर्न सकारात्मक देखिएको बीमा कम्पनीहरूको भनाइ छ । तिहारपछि केही बैंकहरूले यस्ता बीमा गर्न सक्ने नेपाल इन्स्यारेन्सका नायब महाप्रबन्धकले विक्रान्त पाण्डेको भनाइ छ । ‘यस विषयमा राष्ट्र बैैंकले नै आवश्यक नीति ल्याउन लाग्नु सकारात्मक पक्ष हो । हालै भएका साइबर हमलाबाट भएको क्षति त्यति ठूलो होइनन् जस्तो लाग्छ । तर, भोलिका दिनमा ठूलो मात्रामा नोक्सानी भयो हामी पनि आवश्यक राहत दिन सक्छौं,’ उनले बताए । आर्थिक अभियान दैनिकमा प्रकाशित समाचार 

Ad