लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा महाप्रसाद अधिकारी नियुक्त भएका छन् । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरबाट गत पुस १० गते अवकास पाएका अधिकारीलाई बिहीबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले बोर्डको सीइओमा नियुक्त गरेको हो । आगामी आइतबारदेखि अधिकारीले पदबहार ग्रहण गर्नेछन् । बोर्डको सीइओको कार्यकाल चार वर्षको हुन्छ ।
डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले ०६८ सालमा राधेस पन्तलाई बोर्डको सीइओ नियुक्त गरेको थियो । उनको कार्यकाल ०७२ सालमै सकिएको भएपनि सरकारले नयाँ सीइओ नियुक्त नभएसम्मका लागि पन्तलाई नै काम गर्न भनेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको बोर्डको सीईओमा चुनिएका अधिकारी एमाले निकट हुन् । वित्तीय क्षेत्रको नियामक नियका राष्ट्र बैंकमा ३० वर्ष काम गरेका अधिकारी राष्ट्र बैंकको सेकेन्ड म्यान अर्थात डेपुटी गभर्नर भएर काम गरिसकेका छन् । राष्ट बैंकको गभर्नरका लागि तत्कालीन अर्थमन्त्री डा. रामशरण महतले अधिकारीलाई पनि सिफारिस गरेका थिए । अधिकारीले सन् १९९३ मा दि इन्डियन इन्टिच्यूट अफ चाटर्ड एकाउन्टेन्सिबाट चाटर्ड एकाउन्टेन्सीसम्मको अध्ययन पुरा गरेका छन् ।