नयाँ आर्थिक वर्ष सुरु हुनै लाग्दा बैंक तथा वित्तीय संस्थाहरु मर्जरका लागि राष्ट्र बैंक धाउने क्रम बढेको छ । राष्ट्र बैंकले २०७४ असार मसान्तसम्म वाणिज्य बैंकले ८ अर्ब, राष्ट्रिय स्तरको विकास बैंकले दुई अर्ब ५० करोड र फाइनान्स कम्पनीले ८० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउनुपर्ने नीति ल्याएपछि पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरु मर्ज हुने क्रम बढेको हो । राष्ट्र बैंकको निर्देशनअनुसार एक आपसमा गाभिएर वा एकले अर्कोलाई खरिद (एक्विजिसन) गरेरमात्र चुक्ता पुँजी वृद्धि गर्नुपर्ने बाध्यता ती संस्थाहरुलाई छ । यद्यपी बैंक तथा वित्तीय संस्थाले मर्जरको बाटो रोज्नुका दुई वटा कारण छन् । जसमा पहिलो हो, राष्ट्र बैंकले ल्याएको पुँजी बृद्धिसम्बन्धी बाध्यकारी नीति र दोश्रो कारण हो, मर्जरपछि संस्थाको वित्तीय अवस्था मजमुत हुने विश्वास । पछिल्लो विवरणअनुसार अहिले २० वटाभन्दा बढी बैंक तथा वित्तीय संस्था मर्जरको पर्खाइमा छन् । कतिपय संस्थाहरु त यसअघि नै आपसमा गाभिएर एकीकृत कारोबार पनि सुरु गरिसकेका छन् ।
सबैभन्दा पहिला हेरौँ, पछिल्ला केही महिनायता कुन–कुन संस्थाहरु कुन संस्थामा मर्ज भए ?
बैशाखयता मर्ज भईसकेका बैक तथा वित्तीय संस्थाहरु
राष्ट्र बैंकले मर्जरसम्बन्धी विनियमावली २०६८ जारी गरेपछि वित्तीय संस्थाहरु धमाधम मर्जरको बाटोमा लागेका हुन् । यसअघि लक्ष्मी बैंकमा हाइसेफ फाइनान्स, नेपाल बंगलादेश बैंकमा नेपाल बंगलादेश फाइनान्स र नेपाल श्रीलंका फाइनान्स मर्ज भएका थिए । नारायणी र नेसनल फाइनान्स गाभिएर नारायणी नेसनल बनेका थिए ।
असार लागेपछिमात्रै सिद्धार्थ बैंक र बिजनेस युनिर्भसल विकास बैंक तथा कामना विकास बैंक र कास्की फाइनान्स एकापसमा गाभिएका हुन् । सिद्धार्थ बैंक र बिजनेस युनिर्भसल विकास बैंकबीच मर्जर प्रक्रिया पूरा भएपछि मंगलबारबाटै एकीकृत कारोबार सुरु भएको छ । राष्ट्रिय स्तरको विकास बैंकले ०७४ असार मसान्तसम्म २ अर्ब ५० करोड रुपैयाँ पँुजी पुर्याउनुपर्ने राष्ट्र बैंकले नीति ल्याएपछि कामना विकास बैंक र कास्की फाइनान्स गाभिएका छन् । करिब एक दशकअघि कास्कीमा खुलेका यी दुई वित्तीय संस्था मर्ज भएपछि बनेको कामना विकास बैंकको वित्तीय कारोबार सुरु भएको छ ।
त्यस्तै सिद्धार्थ विकास बैंकमा एकता विकास बैंक र आवास फाइनान्स गाभिएका छन् । कमर्ज एन्ड ट्रस्ट बैंक, आइएमई फाइनान्सियल इन्स्टिच्युसन, गुल्मी विकास बैंक, सोसियल डेभलपमेन्ट बैंक र लर्ड बुद्ध फाइनान्स ग्लोबल आइएमई बैंकसंग मर्ज भइसकेका छन् । सिटी डेभलपमेन्ट बैंक र ओम फाइनान्स पनि कर्ज भएर ओम डेभलपमेन्ट बैंकको नामबाट कारोबार थालिसकेका छन् । गोर्खा विकास बैंक र काठमाडौँ फाइनान्स पनि एकआपसमा मर्ज भई गोर्खाज फाइनान्सको नामबाट कारोबार थालेका छन् । मेगा बैंक लिमिटेड र पश्चिमाञ्चल डेभलपमेन्ट बैंक गाभिएर मेगा बैंककै नामबाट बैशाख १३ गतेदेखि कारोबार गरिरहेका छन् । गरिमा विकास बैंक र सुभेच्छा विकास बैंक गाभिएर बनेको गरिमा बैंकको एकीकृत कारोबार असार मसान्तबाट सुरु हुँदैछ । वित्तीय संस्थाको अध्ययन गरिसकेको र अवस्था सन्तोषजनक रहेको राष्ट्र बैंकले जनाएको छ ।
अब हेरौँ कुन–कुन बैंकहरु जाँदैछन् मर्जरमा
अहिले झण्डै दुई दर्जनको संख्यामा बैंक तथा वित्तीय संस्थाहरु मर्जर स्वीकृति पर्खिरहेका छन् । नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंकले कुमारी बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, एपेक्स डेभलपमेन्ट बैंक, इन्टरनेसनल डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंकलाई गाभेर चुक्ता पुँजी बढाउने निर्णय गरेको छ । यस्तै बैंक अफ काठमाण्डू र लुम्बिनी बैंक गाभिनका लागि सम्झौता गरेको पनि लामो समय भएको छ । सिभिल बैंक र इन्टरनेसनल लिजिङ एन्ड फाइनान्स एकापसमा गाभिने भएका छन् । श्री इन्भेस्टमेन्ट फाइनान्स र एभरेस्ट फाइनान्स पनि मर्जरमा जाने तयारी गरिरहेका छन् । भिवोर विकास बैंक र सोसाइटल डेभलपमेन्ट बैंक पनि मर्जरको अन्तिम तयारीमा पुगेका छन् । ज्योति विकास बैंक, हाम्रो विकास बैंक र झिमरुक विकास बैंकले पनि गाभिनेसम्बन्धी आन्तरीक सहमति गरिसकेका छन् ।
महालक्ष्मी फाइनान्स लिमिटेडको विशेष साधारण सभाले पनि महालक्ष्मी फाइनान्स लिमिटेड, मालिका विकास बैंक लिमिटेड तथा सिद्धार्थ फाइनान्स लिमिटेड एक आपसमा गाभिई राष्ट्रिय स्तरको महालक्ष्मी विकास बैंक बन्ने प्रस्ताव सर्वसम्मतिले पारित गरिसकेको छ । काष्ठमण्डप डेभलमपेन्ट बैंक लिमिटेड तथा काँक्रेबिहार विकास बैंक लिमिटेडबीच गाभिनेसम्बन्धी सम्झौता भइसकेको छ । यसअघि पनि काष्टमण्डपले महाकाली विकास बैंक र पश्चिमाञ्चल फाइनान्स कम्पनीसँग मर्जर सम्झौता गरिसकेको छ । ग्लोबल आइएमई बैंक लिमिटेडले लमजुङमा रहेको प्यासिफिक डेभलपमेन्ट बैंक किन्ने भएको छ । यस्तै प्राइम कमर्सियल बैंकले विराट लक्ष्मी विकास बैंक र कन्ट्री डेभलेपमेन्ट बैंक खरिद गर्ने भएको छ । टुरिजम डेभलपमेन्ट बैंक लिमिटेडले कालिञ्चोक डेभलपमेन्ट बैंक किन्दैछ । टुरिजमले मातृभूिम विकास बैंक लिमिटेड किन्ने प्रक्रिया पनि अघि बढाइरहेको छ ।
केन्द्रीय बैंकले वित्तीय संस्थाको संख्या बढे पनि गुणस्तर र उनीहरुको वित्तीय अवस्थामा सुधार आउन नसकेको भन्दै मर्जरका लागि प्रोत्साहन गर्दै आएको छ । चालु आवको अन्त्यसम्ममा प्रक्रिया पूरा गरी अर्को वर्षदेखि एकीकृत कारोबार सुरु गर्ने तयारी यी संस्थाले गरेका हुन् ।