June 24th, 2016

हेर्नुस्, साताभर चर्चामा रहेका बैंकिङ गतिविधिहरु 

bankingहरेक साताको अन्तिम दिन शुक्रबार बैँकिङ खबर डट कमले साताभरिका बैँकिङ गतिविधिहरुलाई एउटै पानामा समेट्दै आइरहेको छ । यस साता पनि बैँक तथा वित्तिय क्षेत्रमा विभिन्न गतिविधिहरु भए । बैँक तथा वित्तीय संस्थासम्बन्धि विभिन्न समाचार तथा गतिविधिहरुलाई सञ्चार माध्यमहरुले महत्वका साथ प्रकाशन तथा प्रशारण गरे । यस साता पुनः वाफियाकै चर्चा भयो । समग्रमा, साताको सुरुवातदेखि बैँक तथा वित्तिय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु यहाँ प्रस्तुत गरिन्छ :

वाफियामाथिको छलफल
अर्थसमितिबाट संशोधनसहित व्यवस्थापिका संसदका छलफलका लागि पठाइएको वाफिया विधेयक संसदले अर्थसमितिमा नै फिर्ता गर्यो । बैंकरसमेत रहेका केही संसदहरु आफूअनुकुल वाफिया संसोधन गर्न समितिलाई दबाब दिएको कुराले केही सातादेखि नै चर्चामा रहेको यो विषय यस साता पनि सेलाएन । साताको विहिबार पूर्वप्रशासकहरु सहभागि रहेको नेपाल नागरिक समाजले बाफियामा बैक तथा वित्तिय संस्थाका संचालकहरुलाई हटाउन माग गर्दै सभामुख ओनसरी घर्ति मगरलाई ज्ञापन पत्र बुझाए । 

शाखा, सेवा तथा प्रविधि विस्तार
सनराइज बैंक लिमिटेडले बैंकिङ इलामको जिल्लाको साखेजुङ्ग गा.वि.स.वडा नं.७ स्थित नेपालटारमा शाखारहित बैंकिङ सेवा सुरु गर्यो । मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड र सिडिएस एण्ड क्लियिरङ्ग लिमिटेड बीच धितोपत्र अभौतिकीकरणका लागि दर्ताको सम्झौता सम्पन्न भयो । मुस्लिम समुदायको  महान पर्व रमादानको अवसरमा सेन्चुरी रेमिटले बिशेष उपहार योजना ल्यायो । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सुनसरी जिल्लाकोे लौकही गाविसमा आफ्नो ९३ औ शाखारहित बैंकिङ्ग सेवा सुरु गर्यो । मंगलबार नै कृषि विकास बैंकले संखुवासभास्थित खाँदबारीमा आधुनिक बैंकिङ कार्यालय खोल्यो । यसै सातादेखि फेवा विकास बैकले कास्की जिल्ला लेखनाथ नगरपालिकाको तालचोक शाखाबाट कारोबार शुभारम्भ गर्यो । साताको बुधबारदेखि आई.एल.एफ.सि.ओ.माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले नुवाकोट जिल्लाको खड्गभञ्जाङ्ग र दाङ्ग जिल्लाको लक्ष्मिपुरमा थप २ वटा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्यायो । सेञ्चुरी बैंकले भिसा क्रेडिट कार्ड सेवा सुरु गर्यो । कृषि विकास बैंकले नुवाकोटको छहरेमा आफ्नो २४८ औँ शाखा स्थापना गर्यो । कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिकामा राष्ट्रिय वाणिज्य बैकको १६५ औं शाखा कार्यालय स्थापना गरियो ।

शेयर निष्काशन तथा वितरण
सिइडिबी हाइड्रोको बुधबार सम्पन्न विशेष साधारणसभाले १७ करोड ६१ लाख रुपैंयाको साधारण शेयर निष्काशन गर्ने निर्णय गर्यो । सानिमा माइ हाइड्रोपावर कम्पनिको बुधबार बसेको सञ्चालक समितिको बैठकले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय गर्यो । सुप्रिम डेभलपमेन्ट बैंकले आफ्ना शेयरधनीलाई १५ प्रतिशत बोनश शेयर दिने निर्णय यसैसाता गर्यो । युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडले निष्काशन गर्न लागेको २८ लाख ७५ हजार कित्ता शेयरलाई इक्रा नेपालले ३ ग्रेड रेटिङ दियो । नेपाल बैंकले आफ्नो स्वामित्वमा रहेको तारा गाउँ रिजेन्सी होटलको ७ लाख कित्ता साधारण शेयर लिलामका लागि फेरि नयाँ सूचना निकाल्यो । दिव्यश्वरी हाइड्रोपावरले सर्वसाधारणका लागि ३ लाख ९६ हजार कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पायो । बरुण हाइड्रोपावर कम्पनीको बुधबार बसेको पाँचौ सञ्चालक समितिको बैठकले १ बराबर १ का दरले हकप्रद शेयर जारी गर्ने प्रस्ताव गर्यो । कर्णाली डेभलपमेण्ट बैंकले ४ लाख कित्ता हकप्रद शेयर निष्काशनको मिति असार ३० गतेसम्मलाई बढायो । 

मर्जर, एक्विजिसन तथा संयुक्त कारोबार
सिद्धार्थ बैंक र बिजनेश युनिभर्सल डेभलपमेन्ट बैंक मर्जर भई सिद्धार्थ बैंक लिमिटेडको नामबाट यसै साताको मंगलबारदेखि संयुक्त कारोबार सुरु गरे । कास्की फाइनान्स र कामना विकास बैंक मर्ज भई बनेको राष्ट्रियस्तरको विकास बैंक कामना विकास बैंकले सोमबारबाट एकिकृत कारोबार थाल्यो । सिर्जना फाइनान्सले ३० हजार ६ सय ७० साधारण शेयर, एनसीसी बैंकले ४ लाख ४ सय २३ कित्ता संस्थापक शेयर र सिनर्जी फाइनान्सले १ लाख ८५ हजार कित्ता शेयर लिलामीमा राखे । अपि पावर कम्पनी लिमिटेडको १ः२ को अनुपातको हकप्रद शेयरका लागि इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गर्यो । सिटिजन्स बैंक इण्टरनेशनल लिमिटेडले ५५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्यो । कञ्चन डेभलपमेन्ट बैंकको २७ प्रतिशत संस्थापक शेयरलाई साधारण परिणत गर्ने प्रस्ताव पारित भयो । 

अनुदान तथा सहयोग
नबिल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत दृष्टिबिहिनहरुलाई सहयोग प्रदान गर्यो । नेपाल राष्ट्र बैंकले व्यक्तिगत आवास निर्माणका लागि सरकारले भुकम्पपीडितलाई दिने सहुलियत ऋण बस्न मिल्ने घर नभएकालाई मात्र दिन बैक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दियो । जिल्ला कृषि विकास कार्यालय मोरङले धान उत्पादन कार्यक्रमअन्तर्गत अनुदानबापतको रकम वितरण गर्न सुरु गर्यो ।

नीति परिवर्तन
नेपाल राष्ट्र बैंकले प्राकृतिक व्यक्तिका नाममा एउटै प्रकृतिका एकभन्दा बढी खाता नखोल्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दियो । वैदेशिक रोजगारीमा गएका नेपालीलाई प्रयोग गरेर सुन तस्करी गर्ने क्रम बढेपछि सरकारले सरकारले झिटी गुण्टा सम्वन्धी व्यवस्थामा परिवर्तन गर्दै गहनाबाहेकको पचास ग्रामसम्मको सुन ल्याउन प्रतिवन्ध लगायो ।

अन्य
नेशनल हाइड्रोका कर्मचारीहरुले सुरु गरेको आन्दोलन यसै सातदेखि सकियो । बुद्ध एयरले भुक्तानी मितीभन्दा साढे २ वर्षपहिले नै विश्व बैंकसँग लिएको ऋण चुक्ता गर्यो । २५ दिनका लागि खुलेको चीनको ढुम्बासेन र मुस्ताङीबीचको व्यापार मेलामा पहिलोपटक नेपाली मुद्रा चलाइयो । निक्षेप तथा कर्जा सुरक्षण निगमले ५० करोड रुपैँया लगानीका लागि प्रस्ताव गर्यो । नेपाल राष्ट्र बैंकले अमेरिकी अदालतमा चलिरहेको सम्पत्ति शुद्धीकरणसँग जोडिएको १० लाख अमेरिकी डलरको मुद्दा नौ वर्षपछि सोमबार भएको अन्तिम फैसलाबाट जित्यो । रोल्पा जिल्लामा यसै सातादेखि पशुबीमा कार्यक्रम सुरु भयो ।