भूकम्पका कारण अति प्रभावित ११ जिल्लाका करिब डेढ लाख पीडितसँग अनुदान रकम वितरणका लागि सम्झौता भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणद्धारा जारी विज्ञप्तिअनुसार काठमाडौँ उपत्यकाबाहेकका ११ जिल्लाका १ लाख ४७ हजार १ सय ८८ जना भूकम्पपीडितसँग सम्झौता भएको हो । तीमध्ये ५ हजार ८ सय ४१ जना घरधनीको खातामा मात्र पहिलो किस्ताको रकम जम्मा भएको प्राधिकरणले जनाएको छ ।
एघार जिल्लामध्ये रामेछाप र ओखलढुङ्गामा अनुदान सम्झौताको कार्य अन्तिम चरणमा पुगेको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले केन्द्रीय आयोजना कार्यान्वयन एकाइका अनुसार रामेछापमा ३९ हजार ४ सय ५ भूकम्पपीडित घरधनीसँग अनुदान सम्झौता भइसकेको छ । सो जिल्लामा ४३ हजार ६ सय ९ घरधनी अनुदान पाउने सूचीमा परेका छन् ।
त्यस्तै ओखलढुङ्गामा अनुदान पाउने सूचीमा परेका १९ हजार ८ सय १९ घरधनीमध्ये १६ हजार ६ सय २१ घरधनीसँग सम्झौता भइसकेको प्राधिकरणले बताएको छ ।
गोरखा र सिन्धुपाल्चोकमा पनि अनुदान पाउने सूचीमा परेकामध्ये आधाभन्दा बढीसँग अनुदान सम्झौता भइसकेको प्राधिकरणको विज्ञप्तिमा उल्लेख छ । बिहीबारसम्ममा गोरखामा ३४ हजार ४ सय ५७ र सिन्धुपाल्चोकमा पनि ३४ हजार ४ सय ७५ जनासँग अनुदान सम्झौता भएको तथ्याङ्क सार्वजनिक गरेको छ ।
यसैबिच सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन एकाइका प्रमुख गणेशराज वस्तीले असार मसान्तसम्म ११ जिल्लामा अनुदान सम्झौता सम्पन्न हुने बताए । भूकम्प प्रभावित जिल्लामा गरिएको घरधुरी सर्वेक्षणपछि ५ लाख ३३ हजार ४ सय ५४ घरधनी अनुदान रकम पाउनेको सूचीमा परेका छन् ।


