October 16th, 2019

राष्ट्र बैंकको अर्को सफलता : अधिकांश स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुगे

बैंकिङ खबर । सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुर्याउने राष्ट्र बैंकको नीति लगभल पूरा हुन लागेको छ । ७५३ स्थानीय तहमध्ये ७३९ स्थानीय तहमा वाणिज्य बैंकहरुले शाखा खोलिसकेका छन् । बाँकी १४ स्थानीय तहमा पनि छिटै वाणिज्य बैंकको शाखा पुग्ने राष्ट्र बैंकको दाबी छ ।

हाल २८ वटा वाणिज्य बैंक संचालनमा छन् । जिल्लाका हिसाबले सबैमा वाणिज्य बैंकको उपस्थिती रहेको छ । तर, जिल्लामा जाँदा त्यहाँका सुगम सहर एवम् सदरमुकाममा मात्रै शाखा खोल्ने परिपाटीका कारण सर्वसाधारणहरुको बैंकसम्म पहुँच पुग्न सकेको थिएन । एक त बैंकबाट कारोबार गर्नुपर्छ भन्ने नै थाहा नभएका सर्वसाधारण, त्यसमाथि नजिकै बैंक पनि पुगेको थिएन । जसकारण, उनीहरुको पैसा कि त व्याजमा लगाइन्थ्यो, कि त सिरानीमुनी राखिन्थ्यो । यसो गर्दा, ग्रामीण भेगमा रहेका थुप्रै पुँजीहरु राष्ट्रिय अर्थतन्त्रमा जोडिन सकेका थिएनन् ।

यसै तथ्यलाई मध्यनजर गर्दै राष्ट्र बैंकले अब जिल्लामा नभएर सबै स्थानीय तहमा नै शाखा पुर्याउनुपर्छ भन्ने नीति ल्यायो । हुन त, विकास बैंक र लघुवित्तका शाखा ग्रामीण भेगसम्म पुगेका छन् । तर, सरकारले स्थानीय तहको बजेट वाणिज्य बैंकमार्फत विनियोजन गर्ने भएपछि यो अनिवार्य पनि भएको थियो । त्यसैले, राष्ट्र बैंकले पनि वाणिज्य बैंकलाई नै ग्रामीण तहसम्म जान प्रोत्साहन गर्यो र अन्ततः अहिले पूर्ण रुपमा सफलता हासिल गर्ने क्रममा रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]