मन्त्रिपरिषद् बैठकले एक वर्षअघि चिनियाँ लगानीमा पूर्वाधार लगानी बैंक ल्याउन सम्झौता गर्नेे निर्णय गरे पनि चिनियाँ कम्पनीले रुचि देखाउँदा त्यसको सम्भावना न्यून देखिएको छ । पूर्वाधार बैंकमा लगानी गर्न इच्छुक भनिएको चीनको झोङ्जी रिचवे होल्डिङ्स लिमिटेड कम्पनी सम्पर्कमा नआएकाले पूर्वाधार बैंकमा लगानी सम्भावना कम देखिएको हो । कम्पनी सम्पर्कमा नआएपछि नेपालबाट समेत ताकेता हुन छाडेको छ । चिनियाँ पूर्वाधार बैंक नेपालमा आउने सम्भावना अत्यन्तै झिनो भएको नेपाल राष्ट्र बैंकको एक उच्च स्रोतले बतायो । ‘चिनिया लगानीमा पूर्वाधार बैंक नेपालमा स्थापना हुने विश्वास मलाई छैन,’ स्रोतले बिहीबार नयाँ पत्रिकासँग बतायो । यस सम्बन्धमा कुनै प्रक्रिया अगाडि नबढेको अर्थ मन्त्रालयका वित्तीय क्षेत्र व्यवस्थापन विभागका प्रमुख तथा सहसचिव हरिशरण पुडासैनीले समेत जानकारी दिए ।
अर्थ मन्त्रालयको अग्रसरतामा मन्त्रिपरिषद्को बैठकले ३ असार २०७५ मा झोङ्जी रिचवेसँग पूर्वाधार लगानी बैंक स्थापना गर्नेसम्बन्धी आधारभूत सम्झौतामा हस्ताक्षर गर्ने निर्णय गरेको थियो । तर, एक वर्ष बित्दा पनि त्यस्तो सम्झौता हुन सकेको छैन । झोङ्जी रिचवेले १ खर्ब रुपैयाँ चुक्ता पुँजी भएको पूर्वाधार बैंक खोल्ने प्रस्ताव गरेको थियो । तर, बैंकमा सर्वसाधारणको कम्तीमा १५ प्रतिशत सेयर स्वामित्व हुनुपर्ने नीतिगत व्यवस्थाका कारण झोङ्जी रिचवे पछाडि हटेको थियो ।
सर्वसाधारणको हिस्सेदारी रुचाएन चीनले
‘पूर्वाधार विकास बैंकको इजाजतसम्बन्धी नीतिगत व्यवस्था २०७४’ अनुसार विदेशी बैंक वा वित्तीय संस्थाको न्यूनतम २० प्रतिशतदेखि अधिकतम ८५ प्रतिशतसम्म सेयर लगानी हुन सक्नेछ । सर्वसाधारण समूहको न्यूनतम १५ प्रतिशत सेयर लगानी अनिवार्य छ ।
यदि २० प्रतिशत वा ५० प्रतिशतभन्दा कम वैदेशिक सेयर सहभागिता हुने भएमा सर्वसाधारण समूहलाई न्यूनतम ३० प्रतिशत सेयर (कर्मचारीलाई छुट्याउने सेयरबाहेक) अनिवार्य रूपमा छुट्याउनुपर्नेछ । सर्वसाधारणलाई सेयर दिनुपर्ने प्रस्तावमा झोङ्जी रिचवे अनिच्छुक देखिएपछि यो प्रक्रिया अघि बढ्न नसकेको हो । ‘सर्वसाधारण सेयर जारी गर्न चिनियाँ कम्पनी इच्छुक देखिएन,’ अर्थ मन्त्रालयका एक अधिकारीले भने, ‘त्यसपछि नियम संशोधन गर्ने कुरा पनि उठेको थियो, तर हुन सकको छैन ।’ ‘हालसम्म विदेशी लगानीमा पूर्वाधार विकास बैंक ल्याउने विषयमा कुनै प्रक्रिया अघि बढेको छैन,’ राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले भने ।
पूर्वाधार बैंकमा अन्य विदेशी लगानीकर्ता पनि आएनन्
पूर्वाधार विकास बैंकमा चिनियाँ कम्पनीको मात्र नभई फ्रान्स, जापान, दुबईबाट चासो आउन थालेको राष्ट्र बैंकले बताउँदै आएको थियो । तर, पूर्वाधार विकास बैंकमा वैदेशिक लगानी ल्याउने पटक–पटकको सरकारी प्रयास हालसम्म सफल हुन सकेको छैन । भारतीय सरकारको लगानी रहेको एक्जिम बैंकले समेत नेपालमा पूर्वाधार विकास बैंक खोल्न इच्छा देखाएको छ । तर, हालसम्म कुनै प्रगति भएको छैन ।
हाल सञ्चालनमा रहेको नेपाल पूर्वाधार बैंकमा समेत विदेशी लगानी ल्याउने प्रयास गरिएको थियो । नेपाल पूर्वाधार बैंकमा वाणिज्य बैंक, जीवन र निर्जीवन बिमा कम्पनी, केही निजी कम्पनी र सरकारको लगानी छ । २० अर्ब चुक्ता पुँजी रहेको बैंकमा सरकारको १० प्रतिशत लगानी छ । बैंकमा विदेशी साझेदार ल्याउने प्रयास पनि सफल हुन सकेको छैन । नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचार
