रमेश कुमार भट्टराई । नेपालमा बीमाको अवधारणाको सुरुवात २००४ सालमा नेपाल बैंकको भगिनी संस्थाको रुपमा नेपाल इन्स्योरेन्सको स्थापनासँगै भएको हो । नेपालमा विगतको दिनहरुमा बीमाको पहुँच र आकर्षण बढ्न नसक्नुको कारण भनेको नेपालीहरुको आर्थिक अवस्था कमजोर हुनु नै हो । अधिकतम नेपालीहरुको जीवन निर्वाह गरेर वचत गर्न सक्ने अवस्था थिएन । अर्को कारण भनेको जनचेतनाको अभाव नै हो । विगतमा नेपालमा बीमा कम्पनीहरुको संख्या पनि कम रहेका थिए । जसले गर्दा बीमालाई गाउँ गाउँमा लैजानु पर्छ भनेर कसैले पनि चासो दिएनन् । २०६४ सालमा नयाँ ४ वटा जीवन बीमा कम्पनीको स्थापना पछि मात्र बीमाको विस्तार गाउँ गाउँमा हुन सुरु भयो । जब पछिल्लो समय १० वटा बीमा कम्पनी आए त्यस पश्चात् बीमाले एउटा अभियानको रुप लियो । जुन कुरा ७० वर्षसम्म सात प्रतिशत रहेको बीमाको पहुँच पछिल्लो दुई वर्षमा १७ प्रतिशत पुगेको छ । यसलाई हेर्दा अहिले बीमाको विस्तार भएको देखाउँछ ।
अभिकर्तामा बीमा सम्बन्धी ज्ञान
जीवन बीमा भनेको अभिकर्तामा निर्भर रहने क्षेत्र हो । कानुनले पनि जीवन बीमाको पोलिसी अभिकर्ता मार्फत बिक्री गर्न भनेको छ । चाहे त्यो संस्थागत होस् अथवा व्यक्तिगत । बीमा कम्पनीले सिधै जीवन बीमा पोलिसी बिक्री गर्न पाउँदैनन् । हरेक मानिसको अवस्था अध्ययन गरेर आर्थिक अवस्था अनुसारको पोलिसी बिक्री गर्ने अभिकर्ताले नै हो । अहिलेको बीमा ऐनले एसएलसी पास गरेपछि बीमा अभिकर्ता हुन पाउने व्यवस्था गरेको छ । उक्त व्यवस्थाले अधिकांश ठाउँमा बीमा अभिकर्ता एसएलसी पास गरेका मात्र छन्, जसलाई बीमाको त्यति ज्ञान रहेको छैन । यो अवस्थामा बीमा कम्पनीहरुले अभिकर्तालाई आवश्यकता अनुसारको तालिम तथा बीमाको ज्ञान उपलब्ध गराउन नसकेको अवस्था रहेको छ । अधिकांश अभिकर्ताले बीमाको पोलिसीहरुको बारेमा बुझाउँन नसक्दा मेरो लागि भए पनि बीमा गरिदिनु भन्ने गरेको र फोर्स बीमाको अवस्था आएको हो । बीमाको जनचेतना बढेसँगै अन्य विकसित मुलुकमा जस्तै आवश्यकता महसुस हुन थाल्दछ । त्यस पश्चात बीमा अभियानको रुपमा अघि बढ्छ, अहिले त्यसको सुरुवात भएको छ ।
बीमा कम्पनीहरुको कमजोरी
बीमा कम्पनीहरुले पनिअभिकर्ताहरुलाई विभिन्न चरणमा तालिम दिनुपर्ने हुन्छ, त्यो दिन सकेका छैनन् । यो बीमा कम्पनीको कमजोरी हो । बीमा कम्पनीहरु व्यापार वृद्धिमा मात्र लाग्दा अभिकर्तालाई शिक्षित बनाउनतर्फ ध्यान पुर्याउन नसकेको देखिन्छ । पछिल्लो समय ९ वटा जीवन बीमा कम्पनीहरु आएसँगै भएको अस्वस्थ प्रतिस्पर्धाले गर्दा जुन गुणस्तरीय अभिकर्ता उत्पादन हुनुपर्ने हो । त्यसमा अहिले पनि अभाव देखिरहेको छ । जसो तसो अभिकर्ता बनाएर गाउँमा पठाउने र उनीहरुलाई बीमा विक्री गरे बापतको कमीसन पाउनुहुन्छ भनेर पठाउने परिपाटी बीमा कम्पनीहरुमा देखिएको छ । टार्गेट पेश गरेर आफ्नो लाभका योजनाहरु ल्याउने र अभिकर्तालाई प्रेसरमा काम गराउने भइरहेको छ । अनि अभिकर्ताले ग्राहकको अवस्थाभन्दा माथिको र अभिकर्तालाई नै थाहा नभएको बीमा पोलिसिहरु जवरजस्ती बिक्री भएको अवस्था बजारमा देख्न सकिन्छ ।
अहिले पनि सर्वसाधारणले स्वेच्छा तथा आफ्नो विवेकले बीमा किन्दैनन् । अभिकर्ताले आफ्नो हितको लागि तथा आफुले पाउने कमिसनको लागि र्फोसफुल्ली बीमा गराइरहेका छन् । अहिले १८ वटै कम्पनीले पनि त्यही सिनारियोमा काम गरिरहेकोले बीमा अगाडी बढ्न सकेको छैन । भोल्यूममा बीमा बढेको छ तर इच्छाले बीमा गर्नेको संख्या न्यून मात्र छ । यस्तो अवस्थामा जनचेतनामूलक कार्यक्रमहरु अझै नपुगेको देखिन्छ । बीमाको पहुँच बढाउनका लागि अभिकर्ताहरुका लागि तालिमका साथसाथै सर्वसाधारणहरुमा बीमाको महत्व र आवश्यकताबारे जनचेतना पनि फैलाउनु आवश्यक छ । (महालक्ष्मी लाइफ इन्स्योरेन्सका सीईओ भट्टराईसँग बैंकिङ खबरले गरेको कुराकानीमा आधारित)



