२०७३ असार ९ गते

अब वैदेशिक रोजगारीमा रहेका सबै नेपालीको आम्दानी सञ्चय कोषमा

nrnवैदेशिक रोजगारीमा रहेका सम्पूर्ण नेपालीहरुको आम्दानीको केही भाग कर्मचारी सञ्चय कोष मार्फत जम्मा गरिने भएको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) र कर्मचारी सञ्चय कोषका बीच समझदारी पत्र एमओयूमा हस्ताक्षर हुने भएको हो । संघका अध्यक्ष शेष घलेको नेतृत्वमा गएको प्रनिनिधि मण्डल र कोषका प्रमुख प्रशासक कृष्ण प्रसाद आचार्यको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलका बीच ललितपुरमा भएको बृहत छलफल पश्चात् वैदेशिक रोजगारीमा रहेका सम्पूर्ण कामदार एवं कर्मचारीहरुलाई कर्मचारी सञ्चयकोष मार्फत सामाजिक सुरक्षा सुविधा प्रदान गर्ने विषयमा अगाडि बढ्ने सहमती भएको छ । सोही छलफलका क्रममा गैर आवासीय नेपाली संघका अध्यक्ष शेष घलेले वैदेशिक रोजगारीमा रहेका सम्पूर्ण नेपालीहरुको आम्दानीको केही भाग कर्मचारी सञ्चय कोष मार्फत जम्मा गर्ने अभियानका बारेमा बिस्तृत जानकारी दिए । साथै, कोषले हालसम्म गर्दै आएकौ कर्मचारी सञ्चय कोष सम्बन्धी कार्यविधि, सञ्चयका प्रावधान, लगानीका क्षेत्रहरु, त्यसबाट प्राप्त हुने प्रतिफल, सञ्चयकर्ताले पाउने सेवा तथा सुविधाहरु आदिका विषयमा पनि स्पष्ट पारे ।

कर्मचारी सञ्चय कोषका प्रमुख प्रशासक कृष्ण प्रसाद आचार्यले घलेको जिज्ञासामाथि प्रष्ट पार्दै कोषले वर्तमानमा गर्दै आएको काम, कार्य क्षेत्र, सञ्चयकर्तालाई प्रदान गर्नै गरेको सेवा सुविधा, सामाजिक सुरक्षा सम्बन्धी प्रावधानहरु लगायतको बारेमा बिस्तृत रुपमा प्रकाश पारेका थिए । सो क्रममा उनले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरुलाई समेट्न गरिएको पहल अन्तर्गत उनीहरुको परिवारका सदस्यलाई समेत आम्दानीको बाटोहरु पहिल्याउन सघाउने, ऋण उपलब्ध गराउने, वैदेशिक रोजगारीबाट फर्किएपछि पनि स्वरोजगार हुने अवसरको सिर्जना गर्ने, नयाँ नयाँ लगानीका अवसरहरुकौ सिर्जना गर्ने, स्वास्थ्य बीमा, पेन्सन, सामाजिक सुरक्षाको प्रत्याभूति, दुर्घटना क्षतिपूर्ति आदि विषयमा कोष अगाडि बढेको र वैदेशिक रोजगारीमा रहेकाहरुको लागि छुट्टै कोष तथा त्यसको व्यवस्थापन एवं सञ्चालन कार्य्विधि पनि अलग्गै बनाएर अगाडि बढ्ने दिशामा आफूहरु लागी परेको बताए ।