October 1st, 2019

नेपालमा बैंकिङ्ग क्षेत्रका चुनौती र संभावनाहरु


-अर्जुन बहादुर कँडेल

वि.सं. १९९४ सालमा कार्तिक ३० गते नेपाल बैङ्क कानून तयार गरी जुद्ध शम्शेरले १ करोड ८ लाख ४२ हजार चुक्ता पूँजी भएको नेपाल बैङ्कको स्थापना गरे । यस बैङ्कको स्थापनाबाट नै नेपालमा आधुनिक बैङ्किङ प्रणालीको सुरूवात भएको हो । देशमा केन्द्रीय बैंक समेत नभएको तत्कालीन अवस्थामा यस बैङ्कले केन्द्रीय बैंकको भूमिका समेत निर्वाह गरेको थियो । नेपालमा वि.सं. २०४० को दशकको पूर्वाद्ध देखि आंशिक उदारीकरण र प्रजातन्त्रको पुनर्वहाली पश्चात वित्तीय क्षेत्र सुधार कार्यक्रम अवलम्बन गरेपछि वित्तीय क्षेत्रले फड्को मारेको हो । आर्थिक क्षेत्रमा सरकारी तथा निजि क्षेत्रको सहभागीता बढाउने, वित्तीय अनुशासन, पारदर्शिता र वित्तीय सुसाशन कायम गरी वित्तीय क्षेत्रको सुधार गर्ने उदेश्यका साथ वित्तीय क्षेत्र सुधार कार्यक्रम लागु गरिएको थियो । नेपाल सरकारले आर्थिक नितिमा गरेको परिवर्तनका कारण बिदेशीको संयुक्त सहभागितामा निजी स्तरका बैंकहरु स्थापना भई नेपालको बैंकिङ्ग क्षेत्रको बिकासमा फड्को मारेको देखिन्छ । सरकारी लगानी रहेका नेपाल बैङ्क लि. राष्ट्रिय वाणिज्य बैङ्क र कृषिविकास बैङ्कहरू सञ्चालनको दशकौं सम्म पनि वित्तीय संकटमा फसी सफलता हासिल गर्न नसकेको बिगतको स्थिती बदलिएको छ । हाल यी तिनवटै बैंकहरुको वित्तीय स्थिती मजबुत देखिन्छ । संयुक्त लगानी वा वैदेशिक लगानीको समेत अंश रहेका बैंकहरू धेरैको वित्तीय स्थिति सन्तोषजनक नै रहेको छ भने स्वदेशी लगानीमा रहेका अन्य निजी क्षेत्रका बैंकहरूमध्ये अधिकांशको वित्तीय स्थितीपनि राम्रो रहेको तथ्याङ्कले देखाएको छ । प्रकाशित वित्तीय परिसूचकहरूलाई मात्र मापदण्ड बनाउने हो भने नेपालको बैङ्किङ क्षेत्रमा त्यति ठूला समस्या तथा चुनौतीहरू छैनन् कि भन्ने लाग्न सक्छ तर पछिल्लो समयमा देखिएका तरलता समस्या, बढ्दो प्रतिस्पर्धा, नियामक निकायको नयाँं नयांँ नीति निर्देशनहरु, वित्तीय अपराध जस्ता कारणले नेपालको बैकिङ्ग क्षेत्र दिनप्रतिदिन नयाँनयाँ समस्याको भूमरीमा बढेको सङ्केतहरू देखिँदै आएका छन् ।
बैंकिङ क्षेत्र दिनप्रतिदिन चुनौतीपूर्ण बन्दै आएको छ । नेपालको बैंकिङ क्षेत्रमा विद्यमान प्रमुख समस्या तथा चुनौतीहरूमा लगानीयोग्य रकमको अभाव, अनुत्पादक क्षेत्रमा अधिक लगानी, कमजोर संस्थागत सुशासन, विभिन्न व्यवस्थापकीय समस्याहरू, अनियन्त्रित संस्थागत लागत, बिश्वसनीय लेखापरीक्षणको अभाव, कमजोर सम्पत्ति तथा दायित्व व्यवस्थापन, तरलता समस्या, सहकारी संस्थाहरूको बढ्दो पहुँच, नियमन तथा सुपरिवेक्षणमा देखिएका समस्याहरू, केन्द्रिकृत वित्तीय प्रणाली, अस्वस्थ प्रतिस्पर्धा, उच्च स्तरीय प्रविधिको अभाव, दक्षजनशक्तिको अभाव, व्यवसायिक निष्ठा नहुनु, छलकपट, बैंकिङ अपराध बढ्नु, बैंकिङ चेतना नहुनु, वित्तीय पहुंँचमा कमी, जलस्रोत, उर्जा, पर्यटन तथा कृषिमा अपेक्षित लगानी बढ्न नसक्नु, व्यवस्थापकीय एवं पेशागत ज्ञान र सीपको अभाव, व्यवस्थापनमा गुटबन्दी, बढ्दो वित्तीय जोखिम, उच्चकोषको लागत, वासेल ३ ले निर्धारण गरे बमोजिमका मापदण्डहरु कायमगर्ने, कर्जाको आधार व्याजदर नियमित रूपमा प्रकाशन गर्नुपर्ने, नेपाल राष्ट्र बैंकले तोके बमोजिम स्प्रेड रेट कायम गर्ने लगायतका प्रमुख चुनौतीहरू रहेका छन् । बैंक तथा वित्तीय संस्थाहरूको सङ्ख्यात्मक बृद्धिसंगसंगै बैंकिङ प्रणालीमा अस्वस्थ प्रतिस्पर्धा बढ्दै गइरहेको देखिन्छ । बैंक तथा वित्तीय संस्थाहरू मुख्यतया शहरी क्षेत्रमा मात्र केन्द्रित रहने र बैंकिङ कारोबारलाई आफ्नो पक्षमा लिन नीति, नियम एवं वित्तीय अनुशासनको परिधी बाहिर गएर कारोबार सञ्चालन गर्ने गरेकाले कतिपय वित्तीय संस्थाहरू समस्या ग्रस्त हुँदै गएको पाइन्छ भने केही वित्तीय संस्थाहरू बन्द नै भइसकेका छन् ।

बैङ्किङ क्षेत्रकाअवसरहरू/सम्भावनाहरू
1. सन् १९८० को दशकबाट अवलम्बन गरिएको वित्तीय उदारीकरणबाट बैंकिङ क्षेत्र खुल्ला र प्रतिस्पर्धी बनेको
2. लगानीका पर्याप्त क्षेत्रहरू जस्तै जलस्रोत, उर्जा, निर्माण पर्यटन इत्यादी ।
3. व्यापार, व्यवसाय एवं बिकास निर्माणको तिव्र बिस्तार संगसंगै बैंकहरुको गैर कोषीय कारोवार जस्तै प्रतितपत्र, बैंक जमानत आदिको कारोवारमा बृद्धि भई कमिसन आम्दानीमा बृद्धि ।
4. नेपाल राष्ट्र बैंकले नियन्त्रणात्मक प्रणाली हटाई बैंकहरूलाई व्याजदर निर्धारण, कर्जा तथा लगानी व्यवस्थापनमा समेत स्वतन्त्रता प्रदान गरेकोले सुरक्षित लगानी गर्ने अवसर प्राप्त भएको छ ।
5. बैंकिङ्ग तथा वित्तीय संस्थाको ऋण असुली सम्बन्धी मुद्धाहरु छिटो छरितो ढंगबाट कारवाहि र किनारा गरी कर्जाको सावां ब्याज असुली कार्यलाई छिटो छरितो र प्रभावकारी बनाउन ऋण असुलीसम्बन्धी ऐन २०५८ लागू गरिएको छ ।
6. बैंकिङ्ग तथा वित्तीय प्रणालीको कारोवारमा हुन सक्ने कसूरजन्य कार्यबाट बैंकिङ्ग तथा वित्तीय प्रणालीमा पर्न सक्ने असर र जोखिमलाई न्युनीकरण गरी बैंकिङ्ग तथा वित्तीय प्रणाली प्रति विश्वसनीयता अभिबृद्धि गर्न बैंकिङ कसुर तथा सजाय ऐन २०६४ लागू गरिएको छ ।
7. संयुक्त लगानीमा बैंक स्थापना तथा विदेशी बैंकको शाखा कार्यालय स्थापना गर्न दिने राष्ट्र बैंकको नीतिको फलस्वरूप नयाँ नयाँ प्रविधि भित्रने क्रम बढेको छ ।
8. वैदेशिक रेमीट्यान्सको आप्रवाहमा वृद्धि भएसँंगै बैंकहरुमा तरलता उपलब्ध ।
9. नेपाल राष्ट्र बैंक ऐन २०५८ लागू भएकाले गर्दा मौद्रिक अधिकारीको रूपमा ने.रा. बैंकको अधिकार र कर्तव्य स्पष्ट परिभाषित हुनुका साथै बैंकको निरीक्षण तथा अनुगमन सम्बन्धी अधिकारमा समेत वृद्धि भएको छ जसले गर्दा यो देशको स्वायत्त केन्द्रीय बैंकको रूपमा स्थापित हुने अवसर प्राप्त भएको छ ।
10. बैंकिङ्ग क्षेत्रको विकाससँगै ल्याइएका बैंकिङ्ग उपकरणहरू तथा सुविधाहरूले बैंकिङ्ग व्यवसायलाई विस्तार गर्ने अवसर प्राप्त भएको छ ।
11. सस्तो तथा दक्षजनशक्ति उपलब्ध छ ।
12. बैंक तथा वित्तीय संस्थाहरूको सक्षमता अभिवृद्धि गराउने उद्देश्यले राष्ट्र बैंकले विभिन्न किसिमका अन्तराष्ट्रिय स्तरका निर्देशनहरू जारी गरेको छ । यसले बैंकिङ्ग शुसासन निर्माण गर्ने अवसर प्राप्त भएको छ ।
13.  नेपाल विश्व व्यापार संगठनको सदस्य भइसकेको सन्दर्भमा नेपाली बैंकिङ्ग संस्थाहरूलाई विदेशी बैंकिङ्ग संस्थाहरूसित प्रतिस्पर्धा गर्न आवश्यक तयारी गर्ने अवसर प्राप्त भएको छ ।
14. छाता ऐनका रुपमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन–२०६३ ल्याई यसमा परिमार्जन गरि पुनःनयाँ बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन–२०७३ ल्याइएको छ । यो ऐनले नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरू एक आपसमा गाभिने एवं प्राप्ती गर्न सक्ने अवसर प्राप्त भएको छ ।
15.  बैंक तथा वित्तीय संस्थाहरूको शाखा विस्तारले जनताको बैंकिङ्ग पहुँच तथा वित्तीय प्रगाढतामा विस्तार गर्ने अवसर प्राप्त भएको छ ।
16. बैंक तथा वित्तीय संस्थाहरूको वृद्धि सँगसँगै पूँजीबजारको विकास भइरहेको छ र यसबाट नयाँनयाँ बैंकिङ्ग कम्पनीहरूलाई शेयर निष्काशन गरी पूँजी सङ्कलन गर्न सक्ने अवसर प्राप्त भएको छ ।
17.  कृषिकर्जा, लघु कर्जा, रेमीट्यान्स, ग्रामीण उर्जा कर्जा जस्ता प्रोडक्टलाई ग्रामीण तहसम्म पु¥याउने अवसर
18.  बैंक तथावित्तीय संस्थाहरूको प्रतिस्पर्धात्मकक्षमतामा वृद्धि
19. बैंकिङ्ग व्यवसायमा वासेल ३ ले पहिचान गरेको जोखिमका अतिरिक्त बैंक अनुसारको अन्तरनिहित अन्य जोखिमहरू समेत पहिचान गरी सुधार गर्ने अवसर ।

समस्या समाधानका उपायहरू
विभिन्न आर्थिक, राजनैतिक तथा सामाजिक समस्याहरूले घेरिएको नेपालको बैंकिङ्ग प्रणालीको सङ्ख्यात्मक विकासलाई मात्र नभई गुणात्मक रूपमा समेत विकास गर्नु निकै चुनौतीपुर्ण छ । बैंक तथा वित्तीय संस्थाहरूले सबै सरोकारवालाहरूको हित कायमहुने गरी आफ्नो क्रियाकलाप सञ्चालन गरेमा मात्र दीर्घकालीन अस्थित्व एवं सफलता हासिल गर्न सक्दछन् । बैंकहरूको अस्तित्व बर्षौवर्षसम्म पनि कायम रहनुपर्ने भएकोले जसरी भएपनि अल्पकालमा नाफा कमाउने प्रवृत्तिलाई सुधार गरी दिगो वृद्धि लाई अधिक महत्व दिनु पर्दछ । समग्र बैंकिङ्ग प्रणालीमा एकाध बैंक तथा वित्तीय संस्था असफल हुनु त्यति अनौठो नहुन सक्दछ जुन सम्बन्धित संस्था स्वयंको सञ्चालन असक्षमताका कारण पनि हुन सक्दछ तर देशको समस्त बैंकिङ्ग क्षेत्रमा नै समस्या सिर्जना हुनुमा कानूनी पूर्वाधार एवं यथेष्ट कानूनी निकासको अभाव, अधिकार प्राप्त निकायको इजाजत वा दर्ता नीति, निरीक्षण तथा सुपरिवेक्षण, कार्यान्वयन पक्ष, देशको अस्थिर राजनीतिक अवस्था देखि लिएर जनचेतना, साक्षरता आदिले समेत प्रत्यक्ष भूमिका खेलेको हुन्छ । बैंक तथा वित्तीय संस्थाको लागि आवश्यक वातावरण तयार गर्ने र वाञ्छित स्तरमा नियन्त्रणको दायरा विस्तार गर्ने कार्यमा केन्द्रीय बैंकले विशेष ध्यानदिनु पर्दछ । कार्यसंचालन दक्षता बढाउनु पर्ने, दक्ष, अनुभवी र क्षमतावान कर्मचारीको नियुक्ती, राष्ट्र बैंकको निरीक्षण, सुपरिवेक्षण र अनुगमन प्रभावकारी बन्नुपर्ने, अनुत्पादक क्षेत्रमा अधिक कर्जा प्रदान गर्ने परिपाटीको अन्त्य, नयाँ नयाँ लगानी योग्य क्षेत्रको पहिचान एवम् विश्लेषण, उच्च सञ्चालन खर्चमा कटौती, संस्थागत शुशासन कायम गर्नुपर्ने, अस्वस्थ प्रतिस्पर्धाबाट जोगिनु पर्ने, बैंकिङ्ग प्रणालीलाई सुदृढ बनाउन केन्द्रीय बैंकको पहलमा सरकारले आवश्यक कानूनी संरचना बनाउने पहल गर्नुपर्दछ । त्यसैगरी विद्यमान ऐन कानूनमा रहेका विरोधाभाषहरूलाई व्यापक अध्ययन तथा संसोध नगर्ने, बैंक तथा वित्तीय संस्थाको मर्जर वा प्राप्ति सम्बन्धमा स्पष्ट र पारदर्शी कानुनी आधार खडा गर्नु पर्दछ । बैंक तथा वित्तीय संस्थाहरूको लेखा परीक्षणलाई पारदर्शी र विश्वसनीय बनाउनु पर्दछ । कतिपय बैंक तथा वित्तीय संस्थाहरुले वीन्डो ड्रेसिङ गरी वित्तीय परिसूचक प्रकाशन गर्ने परिपाटीको अन्त्य हुनु पर्दछ । बैंक तथा वित्तीय संस्थाामा दिन प्रतिदिन बढ्दै गइरहेको फ्रड, सिस्टम ह्याकिङ लगायतका बैंकिङ अपराध रोक्न यधाशिघ्र आधुनीक सुचना प्रविधिको प्रयोग गर्नु पर्दछ । हुण्डी लगायतका गैर कानुनी वित्तीय कारोवारलाई कडाईका साथ बन्द गर्ने र वित्तीय साक्षरता कार्यक्रमलाई अझ सशक्त कार्यक्रमको रुपमा अगाडी बढाई वित्तीय पहुंँचलाई बृद्धि गर्नु पर्दछ । निजी बैंक तथा वित्तीय संस्थाको कर्मचारी नियुक्तिमा पाददर्शिता हुनु पर्दछ जसको लागि “राम्रो मान्छे भन्दा हाम्रो मान्छे” नियुक्त गर्ने परिपाटिको अन्त्य हुनु पर्दछ ।

अर्जुन बहादुर कँडेल, नेपाल बैंक लिमिटेडमा कार्यरत हुनुहुन्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]