June 23rd, 2016

आरबीआईलाई दीर्घकालीन मुद्रास्फीति लक्ष्य ४ प्रतिशतबाट ५ प्रतिशत पुर्याउन सुझाव

rbiस्टेट बैंक अफ इन्डिया (एसबीआई)ले रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)लाई दीर्घकालीन मुद्रास्फीति लक्ष्य ४ प्रतिशतबाट ५ प्रतिशत पुर्याउन सुझाव दिएको छ । एसबीआईको अनुसन्धान प्रतिवेदनअनुसार सन् १९८३ देखि सबै आरबीआई गभर्नर मुद्रास्फीतिको पक्षमा रहँदै आएका छन् । एसबीआईका प्रमुख अर्थशास्त्री सौम्या कान्ति घोष लेखक रहेको प्रतिवेदन न्यून दरको पक्षमा वकालत गर्नेहरूप्रति आरबीआईका गभर्नर रघुरमन राजनले गरेको तीखो टिप्पणीको एक दिनपछि आएको हो । “न्यून मुद्रास्फीतिमा जोड दिएर हामीले पुरानो विधि त्याग्दै छौं, जसले बहुसंख्यक गरिबको नोक्सानीमा थोरैलाई मात्र लाभ दिएको थियो,” गभर्नर राजनले भने । उनका अनुसार लगानीकर्ताले आरबीआईको मौद्रिक नीति लक्ष्यमा विश्वास आर्जन गरेका छन् । यसले आरबीआईको मुद्रास्फीतिको लक्ष्य पूरा गर्नका लागि सुधार गर्नेछ । दोस्रो कार्यकालमा नजाने राजनको निर्णयले पार्ने नीति प्रभावबारे टिप्पणी गर्दै प्रतिवेदनमा भनिएको छ, “हामी व्यक्तिभन्दा संस्थामा विश्वास गर्छौं । कुनै पनि संस्थाको विश्वसनीयता र स्वतन्त्रता महत्वपूर्ण हो । योबाहेकका अन्य कुनै पनि छलफल विशुद्ध हल्ला मात्रै हो । आरबीआई एउटा संस्था हो ।” एजेन्सी