लघुवित्त विकास बैंकहरुमा निष्क्रिय कर्जाको अनुपात न्यून देखिएको छ । आर्थिक वर्षको पहिलो ९ महिनाको अपरिष्कृत वित्तीय विवरण सर्वजनिक गरेका अधिकांश लघुवित्त बैंकको नाफा बढेको देखिएको छ । त्यस्तै, निष्क्रिय कर्जा ०.५० देखि २ प्रतिशतको हाराहारीमा रहेको छ । तर, यो अवधिमा ५६ लाख ४८ हजार रुपैँया खुद मुनाफा आर्जन गरेको नयाँ नेपाल विकास बैंकमा भने १०.९५ प्रतिशत निष्कृय कर्जा रहेको छ ।
मिथिला लघुवित्त विकास बैंकमा निष्कृय कर्जाको अनुपात ३.३८ प्रतिशत रहेको छ । त्यस्तै, मिर्मिरे लघुवित्त संस्थामा २.२५ प्रतिशत कर्जा निष्कृय रहेको छ । यसबाहेकका अन्य लघुवित्तमा भने यस्तो कर्जाको अनुपात २ प्रतिशतभन्दा कम रहेको छ । ५ प्रतिशतभन्दा बढी कर्जा निष्कृय हुन नेपाल राष्ट्र बैंकको निर्देशन छ । यदि निष्कृय कर्जा अनुपात ५ प्रतिशतभन्दा बढी भएमा राष्ट्र बैंकले कर्जा तथा निक्षेपको बीचमा सीमा तोक्ने लगायतका कारबाही गर्न सक्ने व्यवस्था रहेको छ ।
मिथिला लघुवित्तले चालू आर्थिक वर्षको पहिलो ९ महिनामा ७४ लाख ६२ हजार खुद मुनाफा आर्जन गरेको छ भने मिर्मिरे लघुवित्तले ८० लाख ९८ हजार खुद मुनाफा कमाएको छ । निर्धन उत्थान लघुवित्त, छिमेक लघुवित्त विकास बैंक, स्वाबलम्बन लघुवित्त, साना किसान विकास बैंक, डिप्रोक्स लघुवित्त विकास बैंक, रुरल माइक्रोफाइनान्स, नेरुड लघुवित्त, समिट माइक्रोफाइनान्स, एनएमबी माइक्रोफाइनान्स, नागवेली लघुवित्त, रिलायबल माइक्रोफाइनान्स, आरएसडीसी लघुवित्त लगायतले करोडौँ नाफा कमाएका छन् ।
यसरी, खुद मुनाफा, निष्क्रिय कर्जाको अवस्था समेतको अध्ययन गर्दा लघुवित्त बैंकहरु आफनो उद्देश्यमा निकै नै सफल रहेका देखिन्छन् । लघुवित्त बैंकहरुको धेरैजसो कर्जा उत्पादनमूलक क्षेत्रमा हुने सानो सानो परिमाणमा धेरै संख्यामा कर्जा प्रवाह गर्ने हुँदा यस्तो संस्थाले प्रवाह गर्ने कर्जामा जोखिम कम देखिएको हो ।
ग्रामीण क्षेत्रको विकास लागि उपयोगी लघुवित्त
ग्रामीण क्षेत्रको आर्थिक विकास र समृद्धिको लागि लघुवित्त बैंकहरु निकै नै उपयोगी देखिएको छ । लघुवित्त बैंकहरुले ग्रामीण तथा दुुर्गम क्षेत्रको कृषि, घरेलु तथा साना उद्योग, लघु जलविद्युत् आयोजना, पशुुपालन लगायतका क्षेत्रमा प्रवाह गरेको कर्जा र प्राप्त प्रतिफल समेतको आधारमा आर्थिक विकास र समृद्धिको लघुवित्त बैंकहरुको भूमिका ठूलो देखिएको हो । लघुवित्त बैंकहरुले सानो सानो परिमाणमा धेरै व्यक्तिहरुलाई कर्जा प्रवाह गर्ने हुँदा यसमा जोखिम पनि कम हुुने र यस्ता बैंकहरुको कर्जा उत्पादनमुुलक क्षेत्रमा नै धेरै रहेको आधारमा लघुवित्तको कर्जा अन्य बैंक तथा फाइनान्सहरुको तुलनामा निकै नै सुरक्षित देखिएको छ । ठूला बैंक तथा फाइनान्स कम्पनीहरुले प्रवाह गर्न ग्रामीण तथा विपन्न वर्ग कर्जा पनि लघुवित्त बैंकमार्फत नै गर्ने हुँदा लघुवित्त बैंकहरुको ब्याज आम्दानी उच्च हुुने हुँदा यसबाट पाउने प्रतिफल पनि निकै राम्रो हुुने हुँदा लघुवित्त बैंकहरुको साधारण सेयरमा पनि लगानीकर्ताहरुको निकै नै आकर्षण रहने गरेको छ ।



