June 23rd, 2016

नेप्सेमा ३ अर्ब २० करोड रुपैयाँको हकप्रद शेयर सूचिकृत

nepse1चालू आर्थिक वर्षको पहिलो १० महिनामा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ३ अर्ब २० करोड रुपैयाँ बराबरका हकप्रद शेयर सूचिकृत भएका छन् । सो अवधिमा २१ अर्ब ६८ करोड रुपैयाँ बराबरका शेयर सूचिकृत भएकोमा १ अर्ब ९५ करोड रुपैयाँ बराबरको साधारण शेयर, १४ अर्ब ८३ करोड रुपैयाँ बराबरको बोनस शेयर र १ अर्ब ७० करोड रुपैयाँ बराबरको डिबेञ्चर रहेका छन् । 

समिक्षा अवधिमा कुल १७ अर्ब १९ करोड रुपैयाँको शेयर कारोबार भएको छ । नेप्सेमा सूचिकृत कम्पनिहरुको चुक्ता पुँजी बैशाख मसान्तसम्ममा २ खर्ब ५८ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ । यो अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुले पुँजी वृद्धि गर्ने समयसीमा सहितको नीति आएपछि बैंक तथा वित्तीय संस्थाहरुले बोनस तथा हकप्रद शेयर जारी गरिरहँदा नेप्से परिसूचक उच्च दरमा बढिरहेको छ भने कारोबार पनि सोही दरमा बढिरहेको छ । साथै, ०७२ माघदेखि कागजरहित शेयर (डिम्याट) प्रणालीबाट मात्र कारोबार भएको तथा लगानीकर्ताहरुमा राजनीतिक संक्रमण अन्त्य हुने अपेक्षा बढ्दै गएका कारण पनि शेयर बजार लगातार बढिरहेको छ ।