Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

बैंक अफ काठमाण्डू ठगी प्रकरण : पूर्वसिइओसहित १६ विरुद्ध मुद्दा

२०७६ आश्विन ८ गते

बैंक अफ काठमाडौंले खोला छेउको जग्गालाई राजमार्ग छेउको भन्दै नक्कली कागजपत्रका आधारमा धितो कर्जा प्रवाह गरेर अनियमितता गरेको घटनामा  पूर्वसिइओसहित १६ जनाको संलग्नता रहेको प्रहरीले जनाएको छ । केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले मंगलबार अनुसन्धान पूरा गरी उनीहरूविरुद्ध मुद्दा चलाउन विशेष सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ । 

११ जनालाई पक्राउ गरेर तथा पाँचजनालाई फरार अभियुक्तका रूपमा अनुसन्धान प्रतिवेदन बुझाएको सिआइबीका प्रवक्ता एसपी वेलबहादुर पाण्डेले बताए । सरकारी वकिल कार्यालयले बुधबार अदालतमा मुद्दा चलाउने तयारी गरेको छ । 

बैंकका पूर्वसिइओ अजय श्रेष्ठ, नायब महाप्रबन्धक पुष्पराम भण्डारी, जोखिम व्यवस्थापन अधिकृत ऋचा श्रेष्ठ, वरिष्ठ सम्पर्क अधिकृत विभुविक्रम पन्त, सम्पर्क अधिकृत सुष्मा शाह, तत्कालीन क्षेत्रीय मेनेजर गणेश लम्साल, तत्कालीन शाखा प्रबन्धक किरणकुमार बोहोरालाई पक्राउ गरी मुद्दा चलाउन सिफारिस गरेको छ । त्यस्तै, ऋणी सुरेन्द्र श्रेष्ठ, बिचौलियाहरू भूपेन्द्र श्रेष्ठ, ऋषेश्वर थपलिया र कृष्णबहादुर कार्कीलाई समेत सिआइबीले पक्राउ गरिसकेको छ ।

ऋणी श्रेष्ठकी श्रीमती कल्पना शाही सिंह श्रेष्ठ, धितो मूल्यांकनकर्ता भेषराज खत्री, बैंकका कर्मचारीहरू मीनासिंह विष्ट र सुनेना सेलालिक तथा अर्का बिचौलिया प्रेमप्रसाद पाण्डेलाई फरार अभियुक्तका रूपमा मुद्दा दायर गरिएको छ । 

दुई करोड ५० लाख १२ हजार ९७ रुपैयाँ अनियमितता देखिएको सिआइबीका एसपी पाण्डेले बताए । झापाको चार कट्ठा १० धुर जग्गा राजमार्ग छेउको भनेर झुक्याई किर्ते कागजपत्र बनाएर श्रेष्ठले ऋण लिएका थिए । खोला छेउको जग्गालाई राजमार्ग छेउको भन्दै नक्कली कागजपत्र पेस गरी कर्जा प्रवाह भएको थियो । यसमा बैंकका कर्मचारीको समेत मिलेमतोको आशंका गरिएको छ । 

सो धितोमा श्रेष्ठले सुरुमा ३० लाख, दोस्रोपटक एक करोड ३० लाख र तेस्रोपटक ४७ लाख कर्जा लिएका थिए । उनले कर्जा नतिरेपछि लिलामी प्रक्रियामा लैजान किर्ते कागजपत्र पेस गरेको खुलेको हो । ब्याज मात्र श्रेष्ठले ५३ लाख १२ हजार ९७ रुपैयाँ तिर्नुपर्ने थियो । प्रिन्टिङ प्रेस चलाउने श्रेष्ठले स्वर्णिम एन्ड सिजन कम्पनीका नाममा ०७१ मा कर्जा लिएका थिए । व्यवसाय बिग्रिएपछि उनले बैंक ठगी गर्ने योजना बनाएका थिए । 

उनले इटहरीको जग्गा धितो राखेरसमेत एकपटक ५० लाख, दोस्रोपटक दुई करोड १३ लाख लिएका थिए । त्यो ऋण पनि तिरेनन् । तर, धितो उठाउन इटहरीको जग्गा भने पर्याप्त भएकाले सो ऋणमा अनुसन्धान गर्नुनपरेको प्रहरीले जनाएको छ । श्रेष्ठले ऋण लिँदा श्रीमतीलाई जमानी राखेका थिए । श्रीमतीको नाममा बानेश्वरमा घर छ ।

मूल्यांकनकर्ता विदेश फरार 
यो घटनामा मुख्य कमजोरी बैंकका दुई कर्मचारी र मूल्यांकनकर्ताको देखिएको प्रहरी अधिकारीहरू बताउँछन् । मूल्यांकनकर्ता भेषराज खत्री ऋणीसँग मिलेर नक्कली धितो मूल्यांकन बनाइदिएका थिए । बैंकका कर्मचारी फिल्डमै पुगेर हेर्नुपर्नेमा उनीहरू गएनन् ।

पूर्व क्षेत्रका इन्चार्ज रहेका तत्कालीन कर्मचारी लम्साल तथा शाखा प्रबन्धक किरणकुमार बोहराले प्रक्रिया पूरा नगरेको अनुसन्धानमा खुलेको थियो । उनीहरूकै सिफारिसका आधारमा केन्द्रीय कार्यालयले कर्जा दिएको थियो । जसमा तत्कालीन सिइओ श्रेष्ठको समेत हस्ताक्षर छ । तर, धितो कमसल थाहा भईकन नै उनले ऋण प्रवाह गर्ने निर्णय गरेको भने देखिएको छैन ।

कानुनी दृष्टिले यसमा सिइओसहितको सामूहिक दायित्व देखिएकाले उनलाई समेत पक्राउ गर्नुपरेको सिआइबीका डिआइजी निरज शाहीले बताए । मूल्यांकनकर्ता खत्री भने पहिले नै विदेश गइसकेको खुलेको छ । 

नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचार ।

Ad