Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बचतकर्ताको विश्वास गुमाउँदै सहकारीहरु : पैसा फिर्ता लिनेको घुइँचो

admin २०७३ असार ८ गते
सेयर:

money 2 (3)सर्वसाधारणले बचत गरेको रकम फिर्ता गर्न नसक्दा बारा जिल्लाका सहकारीहरु संकटमा पर्न थालेका छन् । सहकारी सञ्चालकहरु पैसा खाएर भाग्ने क्रम बढेपछि बचतकर्ताहरु सबै धमाधम पैसा फिर्ता लिन सहकारी धाउन थालेकाले सहकारीहरु पैसा फिर्ता गर्न नसक्ने अवस्थामा पुगेका हुन् । जिल्लामै केही र छिमेकी जिल्ला वीरगञ्जका सहकारी सञ्चालकहरू करोडौं रुपैयाँ लिएर धमाधम भाग्न थालेपछि बचतकर्ताहरू सहकारीमा रकम फिर्ता लिन थालेका छन् । रकम डुब्ने शंका बढेपछि बचतकर्ताले सहकारी गरेको बचत रकम फिर्ता लिन थालेका हुन् ।

हालै वीरगन्ज–१९ नगवाको हिमालय बचत तथा ऋण सहकारी संस्थालगायतका केही सहकारीका सञ्चालकहरू करोडौं रकम लिएर भागेपछिसँगै जोडिएको जिल्ला भएकै कारण हजारौं बचतकर्ताहरू आफ्नो बचत रकम डुब्ने त्रासले रकम फिर्ता लिन सहकारी आउन थालेको सहकारी सञ्चालकहरु बताउँछन् ।  नियमनकारी निकाय डिभिजन सहकारीले कडा निगरानी नराख्दा सञ्चालकले बचत हिनामिना गर्ने क्रम बढेको बचतकर्ता बताउँछन् । 

साना व्यापारीले दैनिक गर्ने कारोबारबाट बचत रकम सहकारीमा राख्ने र चाहिएको बखत झिक्न र सामान्य प्रक्रिया बाटै ऋण सजिलै पाउने भएपछि बचत तथा ऋण सहकारी संस्था मझौला व्यापारी माझ पनि लोकप्रिय बन्दै गएको थियो । तर, पछिल्ला घटनाक्रमले यस्ता बचतकर्ता सशंकित भएका छन् । बाराकै पर्सौनामा रहेको शिवपार्वती बचत तथा ऋण सहकारी र सजिलो बचत तथा ऋण सहकारीका सञ्चालक निपु कुमार यादब बेपत्ता भएपछि अन्य सहकारीका बचतकर्ता पनि सशंकित भएका हुन् । त्यस्तै जिल्लाकै रघुबाईमा सञ्चालित माइक्रो बचत तथा ऋण सहकारीका सञ्चालक अध्यक्ष रामबाबु पटेलले बचतकर्ताको बचत आफैंले अपचलन गरी बेपता भएका छन् । यी सस्थामा बचतकर्ताको लाखौँ रकम अपचलन भएको छ । 

रकम फिर्ता लिन धेरै बचतकर्ता आउन थालेपछि दर्जनौं बचत तथा ऋण सहकारी संस्था पैसा दिन नसकेर अप्ठेरोमा पर्न थालेका छन् । जिल्लाका कबहिगोठ बचत तथा ऋण सहकारी, महालक्ष्मी बचत तथा ऋण भोडाहा, शिवपार्वती बचत तथा ऋण पर्सौना, राणीसती बचत तथा ऋण सिसौनियाँ, समन्वय बचत तथा ऋण सहकारीलगायतका दर्जनौं सहकारी बचतकर्ताको रकम फिर्ता गर्न ऋण सापटी खोज्दै विभिन्न संघसंस्था र व्यक्ति गुहार्न थालेका छन् । जिल्लाभर २ सय २४ बचत तथा ऋण सहकारी संस्था सञ्चालनमा छन् । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।