Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकले ग्रामीण विकासको शेयर बेच्दै

२०७६ आश्विन १ गते

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको २ लाख ९९ हजार ९८२ कित्ता संस्थापक शेयर लीलाम बढाबढबाट विक्री हुने भएको छ । नेपाल राष्ट्र बैंकले मंगलवार सूचना जारी गर्दै सो संस्थाको संस्थापक शेयर किन्न चाहनेले मंगलवारदेखि कात्तिक ४ गतेसम्मको लागि आवेदन पेश गर्न सक्ने जानकारी दिएको छ । 

राष्ट्र बैंकको स्वामित्वको उक्त कित्ता बराबरको शेयर विद्यमान संस्थापक शेयरधनीलाई प्रतिशेयर सय रुपैयाँ अंकित दरको हिसाबले लीलाम बढाबढको माध्यमद्वारा विक्री गर्न सूचना जारी गरेको राष्ट्र बैंकको वित्त व्यवस्थापन विभागका कार्यकारी निर्देशक प्रदीपराज पौड्यालले जानकारी दिए । 

यसका लागि आवेदन फाराम केन्द्रीय बैंकको बैंकिङ कार्यालय, बालुवाटारमा रू. ५०० जम्मा गरेको भौचर पेश गरी व्यवस्थापन विभागबाट प्राप्त गर्न सकिने उनले बताए । शेयर खरीदका लागि आवेदन गर्दा अधिकतम सम्पूर्ण कित्तासम्म आवेदन दिन सकिने बताइएको छ । शेयर खरीद गर्न आवेदन गरेको कुल शेयर कित्ता जोड्दा यस बैंकले एउटा व्यक्ति, एकाघर परिवारका सदस्य वा संस्थाले खरीद गर्न वा राख्न पाउने भनी तोकेको अधिकतम संख्या सीमाभन्दा बढी नहुने गरी आवेदन पेश गर्नुपर्नेछ । 

शेयरको न्यूनतम मूल्य प्रतिशेयर रू. १२५ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिनुपर्ने भनिएको छ । सबैभन्दा बढी दरमा खरीद गर्न प्रस्ताव पेश गर्ने आवेदकलाई शेयर विक्री गरिने विभागले बताएको छ । यसबाट पनि शेयर बाँकी रहेमा त्यसपछिको बढी दरमा खरीद गर्न प्रस्ताव पेश गर्ने आवेदकलाई विक्री गरिने पौड्यालले बताए ।

‘बोलकबोल शेयर विक्री गर्दै जाँदा अन्तिम मूल्यमा दुई वा दुईभन्दा बढी आवेदकहरू पर्न गएमा बोलकबोलबाट बाँकी भएको शेयरहरू माग भएको शेयर संख्याको सापेक्षिक भार अनुसार दामासाहीले बाँडिनेछ,’ उनले भने । आर्थिक अभियान दैनिकमा प्रकाशित  

Ad