Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

ब्याजदरमा खेलबाड नगर्नू : अर्थमन्त्री

२०७६ भाद्र १२ गते

अर्थमन्त्री डा. युवराज खतिवडाले ब्याजदरमा खेलबाड नगर्न बैंकरहरूलाई निर्देशन दिएका छन् । राष्ट्रिय वाणिज्य बैंकको शाखा उद्घाटन कार्यक्रममा बोल्दै उनले ऋणीलाई झुक्याउने र बचतकर्तालाई अन्याय गर्ने कार्य बन्द गर्न निर्देशन दिएका हुन् ।

‘अहिले बैंकहरूले अटोमोबाइल क्षेत्रमा एकल अंक अर्थात् ९ प्रतिशतमा कर्जा प्रवाह गरिरहेका छन्, मैले उहाँहरूलाई यो दिगो हुन सक्छ त भन्दा सकिँदैन भन्ने जवाफ पाएँ,’ उनले भने, ‘यसरी सुरुमा ९ प्रतिशतमा कर्जा दिने अनि क्रमश १०–११ प्रतिशतभन्दा बढी पु¥याएर नागरिकसँग खेलबाड गर्न हुँदैन ।’ बैंकरहरूले व्यावसायिकता देखाउनुपर्ने उनले बताए ।

अर्थमन्त्री डा. खतिवडाले बचतकर्तालाई अन्याय नगर्नसमेत बैंकरहरूलाई सुझाब दिए । ‘मुद्रास्फीतिभन्दा कम ब्याज दिएर बचतकर्तालाई अन्याय नगरौँ, नत्र पीडामा पुगिन्छ,’ उनले भने, ‘अहिले देखिएको तरलताको संकेत पनि बचतकर्तामाथि भएको खेलबाडकै कारण हो ।’ उनले मुद्रास्फीतिभन्दा बढी वा त्यसकै सेरोफेरोमा रहने गरी बचतकर्तालाई ब्याज दिनेसमेत निर्देशन दिए ।

बैंकरहरूका कारण देखिने समस्याको जवाफदेहिता सरकारसमेत हुने भएकाले सरकारले दिएका निर्देशन पालना गर्नसमेत उनले बैंकरहरूलाई निर्देशन दिए । ‘गल्ती तपाईंहरू गर्नुहुन्छ, संसद्देखि सबैतिर जवाफ मैले दिनुपर्छ,’ उनले भने, ‘त्यसैले सरकारले बनाएका नीति निर्देशन तपाईंहरूले पालना गर्नुपर्छ ।’

समाजले स्विकार्ने नाफा गर्नुहोस् 
उनले बैंकको नाफा सामाजिक रूपमा स्विकार्य हुनुपर्ने बताए । ‘हुन त बैंकको नाफा ६५ अर्ब भयो भन्नेले त्यसको लगानी कति थियो, पुँजी कति थियो भन्ने हेरेको देखिँदैन, जनचेतनाको अभाव छ,’ उनले भने, ‘तर, बैंकले पनि रिजनेबल नाफा कमाउनुपर्छ ।’

ब्यालेन्स सिटले पुँजी बजार बढाऔँ
सोही कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. खतिवडाले पुँजी बजारलाई प्रवद्र्धन गर्न सरकारले कर छुटलगायतका नीति ल्याएको बताए । उनले नीतिगत सुधार भइसकेका कारण अब ब्यालेन्स सिट राम्रो बनाएर बजारलाई गति दिनुपर्ने बताए । ‘सरकारले पुँजी बजारलाई बढाउन कर छुटलगायत थुप्रै नीतिगत कुरा गरेको छ,’ उनले भने, ‘नीतिगत सुधार भइसक्यो अब उद्योग प्रतिष्ठानहरूले आफ्नो नाफा बढाएर सेयर लगानीकर्तालाई उत्साही बनाउनुपर्छ ।’ नीतिले भन्दा पनि ब्यालेन्स सिटले बजार बढाउने उनको जिकिर छ । नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचार 

Ad