बैंकिङ खबर । अधिकांश वाणिज्य बैंकहरूको कल निक्षेप (कल डिपोजिट) राष्ट्र बैंकले तोकेको सीमाभन्दा बढी देखिएको छ । राष्ट्र बैंकले आगामी असारभित्रमा वाणिज्य बैंकहरूको कल डिपोजिट १० प्रतिशतको सीमामा कायम गर्नुपर्ने व्यवस्था गरेको छ । तर, अहिले वाणिज्य बैंकहरूको कल डिपोजिट भने २२ प्रतिशतसम्म देखिएको छ ।
नेपाल राष्ट्र बैंकले गत ९ जेठमा सर्कुलर जारी गर्दै कल डिपोजिटमा क्याप लगाएको थियो । जसअनुसार आउँदो असार मसान्तसम्ममा वाणिज्य बैंकहरूले आफ्नो कुल निक्षेपमा कल डिपोजिटको अंश १० प्रतिशत नघाउन मिल्दैन । तर, गत असार मसान्तसम्ममा अधिकांश वाणिज्य बैंकहरूको कल डिपोजिट सीमाभन्दा निकै बढी देखिएको छ ।
नेपाल बैंकर्स संघको तथ्यांकअनुसार २८ मध्ये १७ वटा वाणिज्य बैंकको कल डिपोजिट १० प्रतिशतभन्दा बढी देखिएको छ । ६ वटा वाणिज्य बैंकको कल डिपोजिट १० प्रतिशतनजिक देखिएको छ । बाँकी ५ वटा बैंकको कल डिपोजिट भने सीमाभन्दा निकै तल देखिन्छ । अधिकांश वाणिज्य बैंकको कल डिपोजिट सीमाभन्दा बढी देखिए पनि औसतमा भने घट्दै गएको देखिन्छ ।
खासगरी राष्ट्र बैंकले सीमा तोकिदिएपछि वाणिज्य बैंकहरूको औसत कल निक्षेप (कल डिपोजिट) घट्न थालेको हो । असार ०७६ सम्म वाणिज्य बैंकको औसत कल डिपोजिट ११.६९ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको भन्दा ०.८५ प्रतिशतले कमी हो । गत असार ०७५ मा वाणिज्य बैंकहरूको औसत कल डिपोजिट १२.५४ प्रतिशत रहेको थियो । राष्ट्र बैंकका अनुसार पछिल्ला वर्षहरूमा कल डिपोजिटको अंश घट्दै आएको छ । वाणिज्य बैंकहरूको कुल निक्षेपमा कल डिपोजिटको अंश असार ०७३ मा १६.३ प्रतिशत, असार ०७४ मा ११.८ प्रतिशत, असार ०७५ मा १०.५ प्रतिशत र चैत ०७५ मा ९.८ प्रतिशत रहेको छ ।
कुन बैंकको धेरै, कुन बैंकको थोरै
प्राइम कमर्सियल बैंकको कल डिपोजिट सबैभन्दा बढी अर्थात् २२.६९ प्रतिशत देखिएको छ । त्यस्तै, मेगाको २१.२९ प्रतिशत र एनसिसीको १८.१७ प्रतिशत रहेको छ । त्यस्तै, सिभिल, सिद्धार्थ, नबिल, कुमारी, सेन्चुरी र नेपाल इन्भेष्टमेन्ट बैंकको कल डिपोजिट १५ प्रतिशतभन्दा बढी छ ।
सबैभन्दा कम कल डिपोजिट कृषि विकास बैंक लिमिटेडको १.०३ प्रतिशत छ । त्यस्तै, नेपाल एसबिआई, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक लिमिटेडको कल डिपोजिट ५ प्रतिशतभन्दा कम छ ।
‘कल डिपोजिट घटाउँदै जानुको विकल्प छैन’
राष्ट्र बैंकले तोकिदिएअनुसार बैंक तथा वित्तीय संस्थाले कुल निक्षेपको कल डिपोजिटको अंश घटाउँदै लैजानुको विकल्प नरहेको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौला बताउँछन् ।
‘निक्षेपकर्ताले कल डिपोजिट जुनसुकै वेला राख्न र झिक्न सक्छन्, यो अस्थिर हुन्छ, जसले गर्दा ब्याजदर र समग्र निक्षेपमा असर पार्न सक्छ,’ उनले भने, ‘त्यसैले बैंक तथा वित्तीय संस्थाले आफ्नो कुल निक्षेपमा कल डिपोजिटको मात्रा घटाउँदै लैजानुपर्छ ।’
सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले पनि कल डिपोजिटको मात्रा घटाउँदै लैजानुपर्ने बताए ।
‘अहिले पनि औसत कल डिपोजिट घटेको देखिन्छ,’ उनले भने, ‘कल डिपोजिट र करेन्ट डिपोजिट अस्थिर हुने भएकाले यसको मात्रा घटाउँदै लैजानु राम्रो हो ।’ नयाँ पत्रिकामा प्रकाशित