रिजर्भ बैंक अफ इन्डियाका गभर्नर रघुराम राजनले आफ्नो कार्यकाल नबढाउने संकेत गरेका छन् । आगामी सेप्टेम्वरमा तीन वर्षे कार्यकाल सकिएपछि आफू फेरी शैक्षिक क्षेत्रमा नफर्कने जानकारी दिंदै उनले आरबिआईका कर्मचारीलाई ’फेयरवेल’ पत्र लेखेका छन् । पत्रमार्फत उनले केन्द्रिय बैंकमा दोस्रो टर्म नलिने जानकारी दिएका हुन् । उनले आफ्नो कार्यकालमा भएका वित्तीय गतिविधि समेत समेटेर पत्र लेखेका छन् । जसमा भारतीय मुद्राको स्थिरिकरण, मूल्य वृद्धिको नियन्त्रण, नयाँ बैंकिङ लाइसेन्स, भुक्तानी प्रणालीको विकास तथा मोवाइलदेखि मोवाइलमा भुक्तानीका लागि प्रणालीको विकास जस्ता काम यो तीन वर्षमा भएको उल्लेख गरिएको छ ।
फरक पक्षको फरक मत
उनको कार्यकालमा वित्तीय क्षेत्र सुदृढ बनेको भन्दै भारतको कर्पोरेट जगत, विदेशी तथा स्वदेशी लगानीकर्ता तथा राजनीतिज्ञ केन्द्रिय बैंकमा उनको दोस्रो कार्यकाल हुनुपर्ने पक्षमा छन् । तर सरकारको नेतृत्व गरिरहेको भारतीय जनता पार्टीका एक नेता सुव्रमण्यम स्वामी भने राजनलाई दोस्रो कार्यकाल दिन नहुने पक्षमा लविङ गरिरहेका छन् । हाल भारतमा यस विषयमाथि बहस भइरहेका बेला रमजनले यस्तो पत्र लेखेका हुन् । उनले गभर्नरबाट अवकाश लिएपछि फेरी अमेरिकाको युनिभर्सिटी अफ सिकागोमा फर्किने बताएका छन् ।



