June 19th, 2016

बैंकिङ प्रक्रियाकै कारण अल्झियो अनुदान वितरण कार्यक्रम

Bhukampa-punarnirmanराष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पका कारण क्षतिग्रस्त आवास पुनःनिर्माणका लागि अनुदान रकम उपलब्ध गराउँदा सम्भव भएसम्म पति र पत्नी दुबैको नाउँमा संयुक्त खाता खोलेर रकम उपलब्ध गराउने नीति बनाएको थियो । यद्यपि, सो नीति आजसम्म कार्यान्वयन हुन सकेको छैन । अनुदान रकम उपलब्ध गराउन सम्झौता भएर बैङ्क खाता खोलिएका भूकम्पपीडितमध्ये कसैको पनि संयुक्त खाता नखोलिएको विभिन्न जिल्लामा स्थलगत अनुगमन गरेर फर्केका गैरसरकारी संघसस्थाहरुले जनाएका छन् । 

पुनःनिर्माणको काम जनअपेक्षा अनुसार अझै हुन नसकेको प्राधिकरणले स्विकार गरेको छ । अनुदान सम्झौता र वितरणका प्रक्रियामा ससाना उल्झनमा प्राधिकरण अल्झनु परेकाले नीतिमा नै उल्लेख भएका विषय पनि कार्यान्वयन हुन नसकेको नभएको प्राधिकरणले बताएको छ । अनुदान रकम वितरण गर्दा सम्भव भएसम्म पति वा पत्नीको संयुक्त खातामा प्रदान गरिने भनिए पनि व्यवहारमा लागू हुन सकेको छैन । यसरी संयुक्त रूपमा खाता खोलिएमा रकमको अधिकतम सदुपयोग हुन सक्न भएकाले विचार गरेर मात्रै यो योजना कार्यान्वयन गरिने प्राधिकरणले जनाएको छ । 

जेठ अन्तिमसम्ममा भूकम्पका कारण अति प्रभावित ११ जिल्लाका करिब १ लाख २ सय ७२ घरधु्रीसँग अनुदान रकम सम्झौता भएको सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय कार्यान्वयन इकाईले जानकारी दिएको छ । तीमध्ये करिब साढे चार हजारले मात्र अनुदानको पहिलो किस्ता रकम बुझेका छन् ।  बैङ्किङ प्रक्रियाबाट रकम वितरण गर्न आवश्यक तयारी गर्दा बढी समय लागेको र अब सबै प्रक्रिया पूरा भइसकेका कारण सम्झौता गरेका लाभग्राहीले रकम प्राप्त गर्दै जाने बताइएको छ । ती ११ जिल्लामा चार लाख ७३ हजारभन्दा बढी लाभग्राहीको संख्या रहेको छ ।