अन्तरराष्ट्रिय पुनर्बिमा कम्पनीहरूले उच्च पुनर्बिमा शुल्क लिने गरेका छन् । यसअघि, जोखिमका आधारमा बिमाशुल्क निर्धारण गर्ने कम्पनीहरूले समय समयमा शुल्कमा पुनरावलोक गर्ने गरेकोमा यसपटक भने एक वर्षसम्मपनि शुल्क घटाएका छैनन् । बिमा भनेको जोखिमको हस्तान्तरण गर्नु हो । जोखिमको आधारमा नै बिमाशुल्क निर्धारण गरिन्छ । अर्थात् जति धेरै जोखिम भयो बिमाशुल्क दर पनि त्यति नै उच्च हुन्छ । गत वर्षको भूकम्प र त्यसपछिका विभिन्न अध्ययनहरूबाट नेपाल भूकम्पीय दृष्टिकोणले उच्च जोखिममा रहेको देखिएपछि अन्तरराष्ट्रिय पुनर्बिमा कम्पनीहरूले नेपाली बिमा कम्पनीको जोखिम लिँदा उच्च बिमा शुल्क लिन थालेका हुन् ।
भूकम्पपछि डेढ प्रतिशतले बढाइएको बिमाशुल्क दरमा अहिलेसम्म पुनर्विचार नगरिएको बिमा कम्पनिहरु बताउँछन् । नेपालको बिमा व्यवसाय काठमाडौंमा मात्रै केन्द्रित रहेको र काठमाडौंमा भूकम्पको जोखिम उच्च रहेको अध्ययनहरू आइरहेकाले बिमाशुल्क बढी भएको कतिपयको बुझाइ छ ।
कमिसन पनि घट्यो
त्यस्ता पुनर्बिमा कम्पनिहरुले पुनर्बिमाबापत बिमा कम्पनीहरूलाई दिँदै आएको कमिसन रकम सकेत घटाएका छन् । बिमा कम्पनिहरुका अनुसार पुनर्बिमा कम्पनिहरुले बिमा कम्पनिलाई दिँदै आएको कमिशन २० प्रतिशतले घटाएका छन् ।
के हो पुनर्बिमा ?
बिमा कम्पनीहरूले आफ्नो क्षमताभन्दा माथि रहेको जोखिम अर्को कम्पनीलाई हस्तान्तरण गर्छन् । यसरी बिमा कम्पनीहरूले अर्को कम्पनीलाई जोखिम हस्तान्तरण गर्ने प्रक्रियालाई पुनर्बिमा भनिन्छ । यसरी बिमा कम्पनीहरूले जोखिम बहन गर्ने कम्पनीलाई पुनर्बिमा कम्पनी भनिन्छ । नेपालका बिमकले भारत, जापान, अष्ट्रेलिया, अफ्रिका, श्रीलंका, मलेसिया, बेलायत, अमेरिकालगायतका पुनर्बिमा कम्पनीसँग पुनर्बिमा गराउँदै आएका छन् ।