June 18th, 2016

११ वर्षदेखि लघुवित्त बैंकबाट ऋण लिन थालेकी एक उद्यमी महिलाको कथा


कल्पना सिवाकोटी (जलेश्वर, महोत्तरी)
kalpana siwakotiसुरुमा मैले स्वाबलम्बन विकास बैंक जलेश्वरबाट १० हजार रुपैँया ऋण लिएर दाउरा व्यापार सुरु गरे । विस्तारै आफ्नो व्यवसायलाई निरन्तरता दिँदै गए । लगानी र आम्दानी पनि बढाएँ । अहिले म सक्षम बनिसकेकी छु । दाउरा व्यापार सँगसँगै बाख्रा व्यवसाय पनि गर्दै आएकी छु । यसबाट पनि राम्रो प्रतिफल प्राप्त गरेकी छु ।  

लघुवित्तले दिएको जीवन
म यहाँसम्म आउन सक्नुमा लघुवित्तको देन छ । ११ बर्ष भयो मैले लघुवित्त बैंकबाट ऋण लिन थालेको । अहिले डेढ लाख ऋण लिएकी छु । यसबाटै लिएको ऋणबाट दाउरा र बाख्रा व्यवसाय गरेर एउटा छोरो इन्जिनियर र छोरीलाई डिग्री पढाउँदै छु । आफ्नै उद्यम र परिश्रमको प्रतिफलबाट परिवारको, छोराछोरीको राम्रो भएको देख्दा गर्वको अनूभुति हुन्छ ।

परिवारको साथ
मेरो उद्यममा लघुवित्तका साथै मेरो परिवारको पनि उत्तिकै साथ र सहयोग छ । श्रीमान् र छोरीको सहयोग पनि सन्तोषजनक नै छ । मेरो काममा परिवारको साथ र सहयोग मिलेकाले नै मैले आफ्नो व्यवसायबाट यस्तो प्रतिफल पाउन सफल भएँ । लघुवित्तले दिएको सहारामा परिवारले थपिदिएको उत्साहको प्रतिफल आज मैले पाइहेको छु । परिवारको सहयोगका कारण दाउरा व्यवसाय र बाख्रापालनलाई एकै साथ अघि बढाउन सक्षम भएकी छु ।  

धेरै कुरा सिकायो लघुवित्तले
नेपालका राजनीतिक दलका नेताहरुले सिकाउन नसकेको कुरा लघुवित्तले सिकाएको छ । महिलालाई आत्मनिर्भर बन्न सिकाएको छ । सानो सानो उद्यम गर्नेलाई पनि एउटा स्थान दिएको छ । महिलाअरुको सीप र जाँगरलाई उत्पादनशील काममा प्रयोग गर्न हौसला प्रदान गरेको छ ।