चालू आर्थिक वर्षको पहिलो १० महिनामा विदेशी विनिमय सञ्चिति १० खर्ब १३ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । २०७२ असार मसान्तको तुलनामा यस्तो सञ्चिति २३ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको अन्त्यमा अर्थात् असार मसान्तमा विदेशी विनिमय सञ्चिति ८ खर्ब २४ अर्ब ६ करोड रुपैयाँ थियो ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७२ असार मसान्तको तुलनामा २०७३ वैशाख मसान्तमा २३.९ प्रतिशतले बढेर ८ खर्ब ७० अर्ब ९९ करोड रुपैयाँ पुगेको छ । राष्ट्र बैँक बाहेकका अन्य बैंक तथा वित्तीय संस्थाहरूसँग रहेको विदेशी विनिमय सञ्चिति १७.७ प्रतिशतले बढेर १ खर्ब ४२ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । कुल सञ्चितिमा भारतीय मुद्रा सञ्चितिको अंश २२.५ प्रतिशत रहेको छ ।
सञ्चिति पर्याप्तता सूचकहरू
आर्थिक वर्ष २०७२/७३ को दश महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १७.३ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन आर्थिक वर्ष २०७१/७२ को संशोधित अनुमान र २०७२/७३ को प्रारम्भिक अनुमानमा आधारित कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४५.१ प्रतिशत, १२२ प्रतिशत र ४८.१ प्रतिशत रहेका छन् । २०७२ असार मसान्तमा यस्ता अनुपातहरू क्रमशः ३८.९ प्रतिशत, ९३.३ प्रतिशत र ४३.९ प्रतिशत रहेका थिए ।




