२०७३ असार ३ गते

भारतको लगानी १० वर्षकै न्यून, चीन र ब्राजीलको लगानी पनि ओर्लियो

economicसन् २०१५ मा भारतले गरेको लगानीमा उच्च कमी आएको विश्व बैङ्कले बताएको छ । सो अवधिमा भारतले निजी तथा सरकारी दुवै क्षेत्रमा गरेको लगानी १० वर्षकै न्यून बिन्दुमा ओर्लिएको बैङ्कद्वारा सार्वजनिक ‘पूर्वाधार डाटावेसमा निजी सहभागिता’ शीर्षकको एक प्रतिवेदनमा भनिएको छ । सो अवधिमा चीन र ब्राजिलजस्ता अन्य उदीयमान राष्ट्रको लगानी पनि घटेको प्रतिवेदनमा उल्लेख छ ।

गत वर्ष विश्वमा भएको लगानी पनि घटेर १ खर्ब ११ अर्ब ६० करोड डलरमा ओर्लिएको तथ्याङ्क छ । यो पाँच वर्षीय (सन् २०१०—२०१४) अवधिमा भएको औसत १ खर्ब २४ अर्ब १० करोड डलरभन्दा पनि कम हो । विश्वव्यापी लगानी घट्नुमा ब्राजिल, चीन र भारतको न्यून लगानी नै प्रमुख कारण रहेको बैङ्कले बताएको छ । गत वर्ष विश्वभरि निजी पूर्वाधारमा भएको लगानी पनि १० प्रतिशतले घटेको छ ।

गत वर्ष अन्य उदीयमान राष्ट्रको लगानी भने अघिल्लो वर्षको तुलनामा ९२ प्रतिशत बढेर ९९ अर्ब ९० करोड डलरमा पुगेको विश्व बैङ्कका प्राक्टिश म्यानेजर क्लिभ र्यारिशले जानकारी दिएका छन् । गत वर्ष ब्राजिलले गरेको लगानी प्रतिबद्धता अघिल्लो वर्षको ४७ अर्ब २० करोड डलरबाट ४ अर्ब ५० करोड डलरमा ओर्लिएको प्रतिवेदनमा भनिएको छ । उता, चीनमा भएको लगानी पनि तीव्र रूपमा घटेर ६ करोड ३० लाख डलरमा ओर्लिएको तथ्याङ्क छ । एजेन्सी