June 16th, 2016

धितोपत्र बोर्डको अनुरोध : ‘लगानी गर्दा सतर्कता अपनाउनुस्’

dhitopatraधितोपत्रको दोस्रो बजार सूचाकाङ्क तथा कारोबार रकममा भैइरहेको बृद्धिले लगानीकर्ताहरु दोस्रो बजार कारोवार प्रति आकर्षित भएको देखिन्छ । पूँजी बजारमा सहभागी भई लगानी गर्नु लगानीकर्ताहरुको हक हो भने लगानीकर्ताहरुलाई बजार, सूचिकृत संगठित संस्थाहरु एवं अर्थतन्त्रको यर्थाथ स्थिति अवगत गराई उनीहरुको हकहितको संरक्षण गर्ने जिम्मेवारी/कर्तव्य बोर्डको रहेको छ । धितोपत्रमा गरिने लगानी जोखिमरहित नहुने हुँदा समग्रमा देशको अर्थतन्त्र, सूचीकृत संगठित संस्थाहरुको कार्य सम्पादन/वित्तीय स्थिति लगानीकर्ता स्वयंको जोखिम वहन गर्ने क्षमता आदिलाई हेरेर धितोपत्रमा लगानी गर्न उपयुक्त हुन्छ । 

हाल सूचिकृत संगठित संस्थाहरुको कार्य सम्पादन÷ वित्तीय स्थिति सामान्य स्तरमा तथा समग्रमा देशको आर्थिक बृद्धि १ प्रतिशत भन्दा तल रहेकोमा धितोपत्र बजारको सूचकाङ्क नेप्से इन्डेक्स निरन्तर रुपमा बढ्दै उच्च विन्दुमा आइसकेको छ । यसरी समग्र अर्थतन्त्र सामान्य रही नेप्से इन्डेक्स मात्र बढ्दै जाँदा बजारको जोखिम पनि उत्तिकै रुपमा उल्लेख्य रुपमा बढ्दै गइरहेको छ । यसरी बजारमा बढ्दै गएको जोखिम समेतलाई दृष्टिगत गरी आफ्नो लगानी सम्बन्धी विवेकपूर्ण निर्णय लिन नेपाल धितोपत्र बोर्ड आम लगानीकर्ताहरुलाई अनुरोध गर्दछ ।