जाजरकोटका लघु उद्यमीले विनाधितो ऋण पाउने भएका छन् । जिल्लाको थलह बजारमा आयोजित लघुकर्जा समन्वयसम्बन्धी छलफल कार्यक्रममा सहभागी वित्तीय संस्थाका प्रमुख एवम् प्रतिनिधि विनाधितो ऋण प्रवाह गर्न सहमत भएपछि लघु उद्यमीले कर्जा पाउने भएका हुन् ।
कार्यक्रममा घरेलु तथा साना उद्योग विकास समिति जाजरकोटका प्रमुख शेर वं. शाहीले वित्तीय संस्थाहरूको लगानीले लघु उद्यमीलाई सहयोग पुग्ने बताए । जिल्लाका ९६ जना उद्यमीमध्ये आवश्यकताका आधारमा २९ जनाले स्थानीय बैङ्क तथा वित्तीय संस्थाहरूबाट लघुकर्जा प्राप्त गरिसकेको तथा बाँँकीलाई व्यवसाय तथा योजनाका आधारमा कर्र्जा प्रदान गर्न पहल गरिने जिल्ला कार्यक्रम संयोजक मोहन सिंह बुढाले जानकारी दिए ।
जिल्लाका भगवती, रग्दा सुवानाउली र पजारु गाविसमा घरेलु तथा साना उद्योग विकास समिति जाजरकोट र लघु उद्यम विकास कार्यक्रम क्षेत्रीय कार्यक्रम सहयोग कार्यालय, सुर्खेतद्वारा सञ्चालित गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत ९६ जना लघु उद्यमी सृजना गरिएको छ ।


