विश्व बैंकले बुधबार नेपाल डेभलपमेन्ट अपडेट सम्बन्धी अध्ययन सार्वजनिक गर्यो । यस वर्ष रेमिटेन्सको जोखिम शीर्षकमा अध्ययन भएको थियो । जसअनुसार, नेपाल भित्रने रेमिटेन्स घट्न सक्ने र त्यसको निकै ठूलो असर अर्थतन्त्रमा पर्ने चेतावनी विश्व बैंकले दिएको छ । भूकम्प र भारतले लगाएको नाकाबन्दीलाई पहिलो र दोस्रो धक्का रुपमा व्याख्या गर्दै विश्व बैंकले रेमिट्यान्सको गिरावटलाई नेपालका लागि तेस्रो धक्काको रुपमा लिएको छ । रेमिटेन्सको मात्रामा थोरै गिरावट आउँदा पनि नेपालको अर्थतन्त्रमा ठूलो असर देखिने छ, विश्व बैंकले सार्वजनिक गरेको रिपोर्टमा उल्लेछ छ ।
यसरी लाग्नेछ धक्का
दुई वर्षअघिसम्म ३० प्रतिशतको हाराहारीमा रहेको नेपालको रेमिट्यान्स वृद्धिदर अहिले १० प्रतिशतको हाराहारीमा छ । रेमिटेन्स १० प्रतिशतले घट्दा नेपालको आर्थिक बृद्धिदर ३ प्रतिशतले घटी १.३ प्रतिशतमा झर्ने विश्व बैंकको विश्लेषण छ । बैंकका अनुसार सन् २०१८मा नेपालको आर्थिक बृद्धिदर ४.४ प्रतिशत हुनेछ । त्यस्तै आयातमा ठूलो गिरावट आउने छ । यसले सरकारी राजस्वमा असर पार्छ । रेमिटेन्समा हुने गिरावटले गरिवी निवारण र सार्वजनिक आयमा समेत ठूलो असर गर्नेछ । मुलुकको शोधनान्तर अवस्था कमजोर हुने छ भने चालु खाता पनि नोक्सानमा हुनेछ । बैंक तथा वित्तीय सस्थाको खराव कर्जा बढ्नेसम्मको असर नेपालमा पर्न सक्ने चेतावनी पनि बैंकले दिएको छ । गत वर्षको भूकम्प पछि विदेशिने कामदारको सख्या घट्न थालेको छ । यसले नेपाल भित्रने रेमिटेन्सको मात्रामा असर पार्ने अनुमान विश्व बैंकको छ ।


