Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

बैंकर्स एसोसिएसनको निष्कर्ष : हतारमा मर्जर हुँदैन

२०७६ असार १८ गते

वाणिज्य बैंकहरूले हतार–हतारमा मर्जर नहुने निष्कर्ष निकालेका छन् । एक साताभित्र मर्जरका लागि जोडी खोज्न राष्ट्र बैंकले दिएको निर्देशनपछि मंगलबार बसेको बैंकर्स एसोसिएसनको बैठकले हतारमा मर्जरमा जान नसकिने निष्कर्ष निकालेको हो । नेपाल राष्ट्र बैंकले १२ असारमा वाणिज्य बैंकहरूका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतहरूलाई बोलाएर मर्जरका लागि प्रतिबद्धता माग गरेको थियो । त्यस्तै, राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले एक साताभित्र मर्जरको जोडी खोज्न निर्देशनसमेत दिएका थिए ।

गभर्नरले दिएको समयसीमा दुई दिन बाँकी छँदा बसेको बैंकर्स एसोसिएसनको बैठकले मर्जरको पहल गर्ने, तर तत्कालै जोडी खोज्न नसकिने निष्कर्ष निकालेको हो । सोहीअनुसार बैंक र बैंकर्स एसोसिएसनले राष्ट्र बैंकलाई छुट्टाछुट्टै जवाफ पठाउने एसोसिएसनका कार्यकारिणी सदस्य तथा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बताए । ‘राष्ट्र बैंकले बैंकहरूसँग मर्जरका विषयमा प्रतिबद्धता मागेको थियो, जोडी खोज्न पनि निर्देशन आएको थियो,’ उनले भने, ‘राष्ट्र बैंकको निर्देशनलाई सम्मान गर्दै मर्जरमा जान पहल गर्ने निर्णय गरेका छौँ, तर तत्काल जोडी खोज्न भने सकिँदैन ।’ 

बैठकले बैंकर्स एसोसिएसनले मर्जरका लागि के–कस्ता नीतिगत व्यवस्था गर्नुपर्छ भन्ने सुझाब र प्रत्येक बैंकले मर्जरमा जान पहल गर्ने प्रतिबद्धतासहितको पत्र पठाउने निर्णय गरेको उनले जानकारी दिए । ‘बिहीबारसम्म बैंकर्स एसोसिएसन र प्रत्येक बैंकले छुट्टाछुट्टै जवाफ पठाउनेछौँ,’ उनले भने, ‘हामी मर्जरमा जान सबै सकारात्मक छौँ, तर त्यसका लागि समय र प्रोत्साहन भने अवश्य चाहिन्छ ।’

बिग मर्जरलाई सुविधाको सर्त  
बिग मर्जरलाई प्रोत्साहन हुने गरी सुविधा ल्याउन बैंकर्स संघले राष्ट्र बैंकसँग माग राख्ने भएको छ । बैंकर्स संघले बिग मर्जरलाई आकर्षण गर्ने गरी विभिन्न नीतिगत व्यवस्था गर्न मागसहितको पत्र पठाउने भएको हो । ‘बिग मर्जरका लागि स्प्रेडदर नघटाउन, निश्चित समयका लागि उत्पादन क्षेत्रको लगानीलाई कडाइ नगर्न, सिसिडी रेसियोमा केही लचकता दिन तथा तरलताको व्यवस्थामा हेरफेर गर्नु आवश्यक छ,’ एक सिइओले भने, ‘यही माग तथा सुझाब बैंकर्स एसोसिएसनका तर्फबाट राष्ट्र बैंकमा पठाउनेछौँ ।’ अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटमार्फत बिग मर्जरलाई प्रोत्साहन गर्ने घोषणा गरेका छन् । ‘बैंक तथा वित्तीय संस्था एक–अर्कासँग गाभ्ने नीतिलाई निरन्तरता दिँदै ठूला बैंक तथा वित्तीय संस्थाहरूसमेत एक–आपसमा गाभ्न प्रोत्साहित गरिनेछ,’ बजेटमा भनिएको छ । बजेटको यही नीतिअनुसार केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत प्रोत्साहन घोषणा गर्नुपर्ने बैंकर्सको माग छ ।

 मर्जरको दौडधुपमा बैंकरहरू
नेपाल राष्ट्र बैंकले मर्जरका लागि दबाब नै दिएपछि बैंकहरूले दौडधुप सुरु गरेका छन् । राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले एक साताभित्र मर्जरको जोडी खोज्न निर्देशनसमेत दिएपछि बैंकरहरू जोडी खोज्ने प्रयासमा जुटेको मेगा बैंकका सञ्चालक गोपाल खनालले बताए । ‘बैंकहरूले एक–आपसमा मर्जका लागि छलफल अघि बढाएका छन्,’ उनले भने, ‘हामीले पनि ग्लोबल आइएमईलगायत केही बैंकसँग छलफल अघि बढाएका छौँ ।’ नयाँ पत्रिका दैनिकमा प्रकाशित 

Ad