बैंकिङ खबर । मर्जरका लागि उपयुक्त संस्था छनौट गरी जानकारी गराउन राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई एक हप्ताको अल्टिमेटम दिएको छ । २८ वटै बाणिज्य बैकका प्रमुख कार्यकारी अधिकृत र सञ्चालक समितिका अध्यक्षहरुलाई डाकेर राष्ट्र बैंकले मर्जरका लागि पार्टनर खोजेर असार १९ गतेसम्ममा जानकारी गराइसक्न निर्देशन दिएको हो ।
कमजोर जोखिम ब्यवस्थापन, तरलता समस्या, समग्र ऋणको बढ्दो जोखिम लगायतका समस्याहरुको समाधानका लागि मर्जरमा जानुपर्ने आवश्यकता रहेको केन्द्रिय बैंकको निष्कर्ष छ । बैंकमा संस्थागत सुशासनमै समस्या देखिएको, खराब कर्जा बढेको, सीसीडी पालना नभएको, स्प्रेड दर कायम नभएको , प्राथमिकता प्राप्त क्षेत्रमा तोकिएको कर्जा नदिएको, सीआरआर पूरा नगरेको जस्ता समस्याको उठान गर्दै राष्ट्र बैंकले यस्ता समस्याको समाधानका लागि मर्जर नै उचित विकल्प रहेको बताए ।
पुँजीवृद्धिको योजना जस्तै मर्जर नीति पनि सफल बनाउने प्रतिज्ञाका साथ गभर्नर डा. नेपालले बजेटमै मर्जरको बिषय आएकाले लबिङका लागि कतै पनि नजान सचेत समेत गराए ।