नेपाल राष्ट्र बैंकले मुलुकको वित्तीय पहुँचको वास्तविक अवस्था खोज्न अनुसन्धान सुरु गरेको छ । वित्तीय पहुँचको अद्यावधिक र स्पष्ट तथ्यांक पत्ता लगाउने गरी राष्ट्र बैंकले अनुसन्धान थालेको हो । अहिले कतिपयले ४० प्रतिशत जनसंख्या वित्तीय पहुँचमा भएको बताउँछन् भने कतिपयले ६० प्रतिशत पुगेको बताउने गरेका छन् । तर, केन्द्रीय बैंकमा अद्यावधिक तथ्यांक छैन ।
मुलुकका के कति जनसंख्या वित्तीय पहुँचमा छन् ? के कतिले वित्तीय सेवा लिएका छन् भन्नेलगायत विषयको अद्यावधिक तथ्यांक खोज्न अनुसन्धान सुरु गरिएको राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा अनुसन्धान विभाग प्रमुख डा. गुणाकर भट्टले जानकारी दिए । राष्ट्र बैंकले मंगलबार सबै वाणिज्य बैंकलाई परिपत्र गरी वित्तीय पहुँचबारे जानकारी माग गरेको छ । बैंकसँग निक्षेपकर्ताको तीनपुस्ते विवरणसहितको जानकारी माग गर्दै केन्द्रीय बैंकले पत्राचार गरेको नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले बताए । ‘केन्द्रीय बैंकले वित्तीय पहुँचको अनुसन्धान गर्न भन्दै मंगलबार बैंकहरूलाई पत्राचार गर्दै निक्षेपकर्ताको विवरण माग गरेको छ,’ उनले भने, ‘बैंकहरूले खाता संख्या, खातावाल र उनीहरूको तीनपुस्ते विवरण पठाउनेछन् ।’
२ करोड ७० लाख खाता
गत चैत मसान्तसम्मा निक्षेप खाताको संख्या २ करोड ६९ लाख पुगेको छ । त्यसैगरी, सोही अवधिमा बैंक तथा वित्तीय संस्थामा ऋणीको संख्या १४ लाख २८ हजार पुगेको छ । ‘निक्षेप खाताको संख्यालाई हेर्दा कुल जनसंख्याको ८०–९० प्रतिशत जनसंख्या वित्तीय पहुँचमा रहेको देखिन्छ,’ भट्टले भने, ‘तर, एकै व्यक्तिले चार–पाँचवटा बैंकमा समेत खाता खोल्ने गरेका कारण उक्त तथ्यांकले वित्तीय पहुँचको वास्तविक र स्पष्ट अवस्था देखाउँदैन ।’ अबको अनुसन्धानले एक व्यक्तिको एक खातालाई मात्रै गणना गरेर वित्तीय पहुँचको तथ्यांक निकाल्ने उनले बताए ।
१ सय ७६ वित्तीय संस्था, ८ हजार तीन सय शाखा
बैंक तथा वित्तीय संस्थाले शाखा विस्तारलाई तीव्रता दिइरहेका छन् । हाल सबै वर्गका समेत गरी कुल १ सय ७६ वटा बैंक तथा वित्तीय संस्था रहेका छन् । चैत मसान्तसम्म वाणिज्य बैंक २८ वटा, विकास बैंक ३२ वटा, वित्त कम्पनी २४ वटा र लघुवित्त कम्पनी ९१ वटा पुगिसकेका छन् । चैत मसान्तसम्म सबै बैंक तथा वित्तीय संस्थाको शाखा संख्या ८ हजार ३ सय १९ पुगेको राष्ट्र बैंकले जनाएको छ ।
७ सय २५ स्थानीय तहमा बैंक
हाल मुलुकका ७ सय ५३ स्थानीय तहमध्ये २०७६ वैशाखसम्म ७ सय २५ तहहरूमा वाणिज्य बैंकका शाखा विस्तार भइसकेका छन् । असार मसान्तसम्ममा देशका सबै स्थानीय तहमा शाखा पुर्याउने केन्द्रीय बैंकले जनाएको छ । सबै स्थानीय तहमा बैंकका शाखा पुगेसँगै वित्तीय पहुँचको अवस्थासमेत विस्तार हुने भट्ट बताउँछन् ।
कस्तो आउनेछ तथ्यांक ?
केन्द्रीय बैंकले ‘एक्सेल सफ्टवेयर’ विकास गरेर वित्तीय पहुँचको अवस्था निकाल्नेछ । सुरुमा मुलुकभरको वित्तीय अवस्थाको तथ्यांक निकाल्ने र त्यसपछि प्रादेशिक तथ्यांक निकाल्ने भट्टले बताए । ‘हाम्रो प्रयास कुन प्रदेशमा कति खाता छन् ? कति जनसंख्या वित्तीय पहुँचमा छ भन्नेलगायतका तथ्यांक निकाल्ने हो,’ उनले भने, ‘यसलाई लिंग, क्षेत्रलगायत फरक–फरक स्वरूपमा समेत निकाल्ने प्रयास गर्नेछौँ ।’
नयाँ प्रत्रिकामा प्रकाशित