June 21st, 2019

तीन धनाढ्यको सम्पत्ति १ खर्ब डलरभन्दा बढी

 
तीन धनाढ्यको सम्पत्ति १ खर्ब डलरभन्दा बढी

लन्डन (बेलायत) । विश्वका सर्वाधिक १ खर्ब अमेरिकी डलरभन्दा बढी सम्पत्ति भएका धनाढ्यको संख्या ३ पुगेको छ । ब्लुमवर्गले सार्वजनिक गरेको शीर्ष ५ सय अर्बपतिको सूचीअनुसार ३ जनाको सम्पत्ति १ खर्ब डलर नाघेको हो । अमेरिकी प्रविधि कम्पनी एमेजनका सीईओ जेफ बेजोस, माइक्रोसफ्टका संस्थापक बिल गेट्स र फ्रान्सेली विलासी सामग्री निर्माता एलभीएमएचका अध्यक्ष बर्नार्ड अर्नल्टको सम्पत्ति १ खर्ब डलर नाघेको हो ।

धनाढ्यको सूचीमा जेफ बेजोस सबैभन्दा अगाडि छन् भने दोस्रोमा बिल गेट्स छन् । यसअघि नै उनीहरूको सम्पत्ति १ खर्ब डलर नाघिसकेको थियो । यस्तोमा बर्नार्ड अर्नल्ट पनि यो सूचीमा थपिएका छन् ।

सन् २०१९ मा अर्नल्टको सम्पत्ति ३२ अर्ब डलर बढेको छ । सूचीअनुसार सो अवधिमा सबैभन्दा धेरै सम्पत्ति वृद्धि गर्ने उनी एक्ला अर्बपति हुन् । अर्नल्टको सम्पत्ति १ खर्ब ४० करोड डलर छ । यो फ्रान्सको अर्थतन्त्रको ३ प्रतिशतभन्दा धेरै हो । फ्रान्समा असमानताबारे आन्दोलन बढिरहे पनि अर्नल्टको सम्पत्ति झन् बढेको छ । यस वर्षमात्र एलभीएमएच कम्पनीको शेयरमूल्य ४३ प्रतिशत बढेको छ । फ्रान्सको सीएससी परिसूचकमा शेयरमूल्य सबैभन्दा धेरै बढाउने यो तेस्रो कम्पनी हो ।

अर्नल्ट गत अप्रिलमा आगलागीबाट ध्वस्त भएको प्राचीन नोत्र दामको पुनर्निर्माणका लागि ६५ करोड डलर दान गर्ने धनाढ्यमध्ये एक हुन् । उनीसँग एलभीएमएचको करीब आधा शेयर छ । १ खर्ब डलरभन्दा बढी सम्पत्ति भएका व्यक्तिको सूचीमा रहेका बिल गेट्सले आफ्नो ३५ अर्ब डलर सम्पत्ति बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेशनलाई दान गरिसकेका छन् । त्यस्तै, एमेजनका बेजोसको ४० अर्ब सम्पत्ति सम्बन्धविच्छेदपछि घटेको थियो । एजेन्सी, अभियान दैनिकबाट 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]