June 20th, 2019

बैंकमा सेवा लिन तीन दिन सास्ती

बाजुरा : आर्थिक वर्षको अन्त्यमा बाजुरा जिल्ला सदरमुकाममा रहेको राष्ट्रिय बाणिज्य बैंकमा सेवाग्राहीको घुइँचो लागेको छ। आर्थिक वर्ष २०७५/०७६ को विकासे बजेट समाप्तिका बेला स्थानीय तहका योजनाको भुक्तानी लिन उपभोक्ता सदरमुकाम ओइरिएका हुन्।

संघीयता लागू भएर स्थानीय सरकार गठन भएको दुई वर्ष बितिसक्दा पनि स्थानीय तहमा बैंक स्थापना हुन नसकेपछि सधैं झैँ यस वर्ष पनि जिल्लाका स्थानीय तहबाट दुई तीन दिन लगाएर सदरमुकाम मार्तडीमा रहेको राष्ट्रिय बाणिज्य बैंकमा योजनाका रकम भुक्तानी लिन स्थानीय पुगेका छन्।

सरकारले सबै स्थानीय तहमा एक बैंक स्थापना गर्ने प्रावधान भए पनि धेरै बैंक सदरमुकाम मार्तडी केन्द्रित हुँदा दुर दराजका स्थानीयले सास्ती खेप्नु परेको जगन्नाथ गाउँपालिकाका स्थानीय जया सार्कीले बताए।

९ ओटा स्थानीय तह रहेको बाजुरा जिल्लामा हाल बुढीगंगा नगरपालिका, बुढीनन्दा नगरपालिका, त्रिवेणी नगरपालिका, खप्तड छेडेदह गाउँपालिका र हिमाली गाउँपालिकाबाहेक अन्य स्थानीय तहमा बैंक शाखा बिस्तार भएका छैनन्। राष्ट्रिय बाणिज्य बैंक, सेन्चुरी बैँक, एनआईसी एसीया बैकं, महालक्ष्मी विकास बैंक लगायतका बैंक जिल्ला सदरमुकामबाट सेवा प्रवाह गरिरहेका छन्। जिल्लाका ९ ओटा स्थानीय तहमध्ये ३ ओटा स्थानीय तहमा अहिलेसम्म स्थापना हुनसेको छैन।

जिल्लाको हिमाली गाउँपालिकामा सानिमा बैंक, खप्तड छेडेदह गाउँपालिकामा हिमालयन बैंक, बुढीगंगा नगरपालिकामा सिद्धार्थ बैंक त्रिवेणी नगरपालिकामा नेपाल बैंक लिमिटेड र बुढीनन्दा नगरपालिकामा राष्ट्रिय वाणिज्य बैंकका शाखा स्थापना भएर सेवा दिइरहका छन्। स्थापना भएका बैंक शाखाबाट पनि सानो तिनो हजारसम्मको चेक भुक्तानी हुने र लाखसम्मको रकमको लागी सदरमुकाम मार्तडी नै आउनु परेको जगन्नाथ गाउपालिका २ का हिरालाल विष्टले बताए। 

यता  स्वामीकार्तिक खापर गाउँपालिका र जगन्नाथ गाउँपालिकामा बैंक शाखा नै स्थापना नहुँदा समस्या भएको स्वामकार्तिक खापर गाउँपालिकाका लेखापाल खम्बीर बुढाले बताए। त्यस्तै गौमुल गाउँपालिकामा पनि बैंक नहुँदा सदरमुकाम नै पुग्नु परेको गौमूल गाउँपालिकाका स्थानीय हिक्मत रोकायाले बताए। स्थानीय तह एकदमै दुर्गम भएको तथा टेलिफोन, इन्टरनेट र सुरक्षा नहुँदा बैंक शाखा स्थापना गर्न समस्या भएको शाखाहरुले बताउने गरेका छन्। जिल्ला सदरमुकाममा रहेको राष्ट्रिय वाणिज्य बैंकमा आर्थिक वर्षको अन्त्यसँगै थेगी नसक्ने भिड भएको राष्ट्रिय वाणिज्य बैंक बाजुर प्रबन्धक जितजङ सिहंले बताए। अन्नपूर्ण पोष्ट दैनिकबाट 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]