June 15th, 2016

जोखिममा ‘युरोपेली धितोपत्र बजार’ 

stockबेलायती जनताले युरोपेली संघ (ईयू) छोड्ने पक्षमा मतदान गरे युरोपेली धितोपत्र बजार ओरालो लाग्ने चेतावनी लगानीकर्ताले दिएका छन् । बेलायतको धितोपत्र बजार झन्डै एक चौथाइले ओरालो लाग्ने जोखिम रहेको मोडलिङ कम्पनी एक्सियोमाले जनाएको छ । “बजार धरमरको अवस्थामा पुग्नेछ,” एक्सियोमाका अनुसन्धान प्रमुख बिल मोरोकोफले भने, “हामीले बेलायतको इक्विटिटीमा आागामी २ देखि ३ महिनाको अवधिमा २४ प्रतिशतको गिरावट आउने अपेक्षा गरेका छौ ।” यो अनुपातको गिरावटले पेन्सन र अन्य लगानी कोषको खर्बौं डलर पलायन हुने जनाइएको छ । मोरोकोफका अनुसार युरोपेली धितोपत्र बजार २० प्रतिशतको हाराहारीमा ओरालो लाग्नेछ । यद्यपि वाल स्ट्रिटमा भने उल्लेख्य क्षति हुने छैन । “अमेरिकी बजारसँग बलियो सहसम्बन्ध छ । त्यसैले त्यहाँ पनि यसको असर पर्नेछ,” उनले भने । बेलायतले जुन २३ मा ईयूमै रहने वा नरहने भन्ने विषयमा टुंगो लगाउँदै छ । बेलायत सरकारले भने रहने पक्षमै अभियान चलाउँदै आएको छ । उसले ब्रेक्जिटले व्यापार र लगानी प्रभावित हुने बताउँदै आएको छ । मन्दी ल्याउने, रोजगारी कटौती गर्ने र पाउन्डको अवमूल्यन हुने दाबी सरकारको छ । एक्सियोमाको दबाब परीक्षण विगतका ठूला घटनाहरुमा बजारले देखाएको प्रतिक्रियामा आधारित छ । यसमा २००९ को युरोपेली कर्जासंकट र १९९२ को ‘ब्ल्याक वेनस्डे’ लाई समावेश गरिएको छ । ईयूको जनमत–संग्रह घोषणा भएदेखि नै विश्वका अन्य प्रमुख मुद्रासँगको तुलनामा पाउन्ड अवमूल्यन हुन थालिसकेको थियो । मतदानको समय नजिकिँदै जाँदा थप अस्थिर हुँदै गएको छ । यसको तुलनामा बेलायतको धितोपत्र बजार शान्त छ । पाउन्डमा भएको अवमूल्यनले बजारलाई सहयोग गरेको मोरकोफको भनाइ छ । सस्तो पाउन्डले विदेशी लगानीकर्तालाई बेलायती धितो किन्नका लागि सस्तो भएकाले पनि यो कम प्रभावित भएको हो । एजेन्सी