June 14th, 2019

फस्टाउँदै एटीएम ठगी ३ करोड बिगो दाबी, २३ पक्राउ

काठमाडौं। पछिल्लो समय बैंकिङ क्षेत्रमा एटीएम ठगी गर्ने क्रम बढेको छ । नेपाल प्रविधिमा पछाडि भएको तथा खुला सीमाका कारण कसुर गरेर भाग्न सजिलो हुने भएकाले पनि पछिल्ला दिनमा एटीएम ठगीका घटना फस्टाउन थालेका हुन् ।

केन्द्रीय प्रहरी अनुसन्धान ब्युरो(सीआईबी)का अनुसार मास्टर कार्डको प्रयोग गरी एटीएम ठगी गर्ने क्रम बढेको हो । त्यस्तै, सीआईबीको पछिल्लो तथ्यांकअनुसार हालसम्म एटीएमको दुरुपयोग गरी २ करोड ५७ लाख ४४ हजार ४ सय ३१ रुपैयाँ ठगी भएको भन्दै बिगो दाबी गरिएको छ । आर्थिक वर्ष २०७०÷७१ मा ७ लाख रुपैयाँ बराबरको एटीएम ठगी भएकोमा आर्थिक वर्ष २०७४÷७५ मा आइपुग्दा झन्डै ३ करोड रुपैयाँ ठगी भएको छ । चार वर्षको अन्तरालमा साढे २ करोड रुपैयाँ बढी ठगी भएको सीआईबीको तथ्यांकले देखाउँछ ।

एटीएम ठगीमा नेपालीको तुलनामा विदेशी बढी रहेका छन् । त्यसैगरी, विदेशी नागरिक १८ जना रहेका छन् । सीआईबीले हालसम्म ८८ लाख ७६ जार ८ सय ५० रुपैयाँ, अमेरिकी डलर ७५ हजार २ सय २५, युरो ७३ हजार ८ सय ७५, इन्डोनेसियन रुपी ३३ हजार, फिलिपिनी करेन्सी ४ सय ७० तथा १ हजार ३ सय ५७ थान एटीएम कार्ड बरामद गरेको जनाएको छ ।

विदेशी नागरिक प्रविधिमा पोख्त भएका कारण मास्टर कार्डको प्रयोग गरेर एटीएमबाट पैसा झिक्ने गरेको सीआईबी प्रवक्ता दीपक रेग्मीले बताए । प्रवक्ता रेग्मीका अनुसार नेपालका सीमा खुला भएकाले पनि ठगी गरेर भाग्न सजिलो हुने भएकाले विदेशी एटीएम ठगीमा आकर्षिक हुने गरेको अनुसन्धानमा खुलेको छ । ठगी गरेर हवाई यातायातबाट जान नपाए पनि खुला सीमाका कारण भारतीय बाटो हुँदै भाग्न सजिलो हुने भएकाले विदेशी नेपालमा ठगी गर्न बढी सुरक्षित ठान्ने गरेको उनले बताए ।

बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ मा कसैले पनि क्रेडिट कार्ड, डेबिट कार्ड, अटोमेटेड टेलर मेसिन (एटीएम) कार्ड वा अन्य विद्युतीय माध्यमको दुरुपयोग वा अनधिकृत प्रयोग गरी भुक्तानी लिन वा दिन हुँदैन भन्ने उल्लेख छ । यदि कसैले त्यस्तो काम गरेमा दफा १५ अनुसार कारबाही हुने सो ऐनमा भनिएको छ ।

त्यसैगरी, बैंक ठगीतर्फ सीआईबीले हालसम्म २ सय ५ जना पक्राउ गरेको छ । जसमा २१ अर्ब ९७ करोड ७६ लाख ३० हजार ७ सय ४१ रुपैयाँ घोटाला भएको भन्दै बिगो दाबी गरी अदालतमा मुद्दा दायर गरेको छ । सीआईबीका अनुसार बैंकिङ कसुरमा संलग्न अधिकांश व्यक्ति बैंकिङ प्रणाली तथा प्रविधिका जानकार रहेको अनुसन्धानमा खुलेको छ । राजधानी दैनिकमा प्रकाशित


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]