June 12th, 2019

बैंकमा स्रोत खुलाउनुपर्ने झण्झटले निक्षेप सहकारीतिर

बैंकिङ खबर । सम्पत्ति शुद्धिकरण निवारणसम्बन्धी नीतिको कार्यान्वयन प्रभावकारी नहुँदा निक्षेपजति सहकारीमा थुप्रिन थालेका छन् । बैंकमा स्रोत नखुलेको रकम जम्मा गर्न नमिल्ने भएका कारण त्यस्ता रकमहरु सहकारीमा जम्मा हुने गरेका छन् । यसले गर्दा एकातिर बैंकहरुा निक्षेप अभाव भइरहेको छ भने अर्कोतर्फ कालो धन लुकाउन सहज भएको छ । सहकारी क्षेत्रमा सम्पत्ति शुद्धिकरण निवारण ऐन कार्यान्वयन हुन नसक्दा अवैध ढंगले आर्जन गरेको रकम लुकाउन सहज भएको छ । बैंक तथा वित्तीय संस्थाहरुमा भने यो ऐन प्रभावकारी रुपमा कार्यान्वयन भइरहेको छ ।

सहकारी संस्थाले १० लाख वा सोभन्दा कारोबार गर्दा सम्बन्धित सदस्य वा व्यक्तिबाट स्रोत खुलाउनुपर्छ। सीमामाथिको कारोबारको प्रतिवेदन १५ दिनभित्र र शंकास्पद देखिएको जुनसुकै कारोबारको प्रतिवेदन तीन दिनभित्र वित्तीय जानकारी एकाइमा पठाउनुपर्ने व्यवस्था छ । निर्देशन कार्यान्वयन नगर्ने सहकारीमाथि लिखित रूपमा सचेत गराउनेदेखि पाँच करोड रुपैयाँसम्म जरिवाना हुने र संस्थाको दर्ता खारेजी गर्नेसम्मको कारबाही हुने व्यवस्था छ ।

सहकारी विभागले पछिल्लो समयमा काठमाडौँ उपत्यका र काभ्रे जिल्लाभित्रका १५ वटा सहकारीमा सम्पत्ति शुद्धीकरणका विषयमा अनुगमन गरेकोमा अधिकांशले सम्पत्ति शुद्धिकरण निवारण निर्देशिकाको पालना नगरेको पाइएको छ । यसरी निर्देशन नमान्दा वित्तीय जोखिम बढेको छ । हाल देशभर संचालनमा रहेका झन्डै ३५ हजार सहकारीले तीन खर्बभन्दा बढीको कारोबार गर्दै आएका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]