June 14th, 2016

मागअनुसारको सुनचाँदी पाएनन् सुन व्यवसायीले

goldगोरखा जिल्लाका सुनचाँदी व्यवसायीले राज्यले मागअनुसारको सुनचाँदी उपलब्ध गराउन नसकेको गुनासो गरेका छन् । सुनचाँदी विक्रि वितरण गर्दै आएका बैंकले समेत व्यवसायीको मागअनुसार सुनचाँदी उपलब्ध गराउन नसकेको उनीहरुले बताए । “हामीले मागेअनुसार सुनचाँदी पाएनौँ,” सुनचाँदी व्यवसायी संघका जिल्ला अध्यक्ष कृष्णबहादुर विश्वकर्माले भने, “बैंकले पनि सुनचाँदी दिन सकेको छैन । अन्यत्रबाट ल्याउँदा जोखिम बढ्यो ।” मागअनुसार सुन नपाएपछि बजारमा सँधै सुनको अभाव हुने गरेको उनले बताए । मागअनुसार सुनचाँदी नपाउँदा व्यापार घटेको सुनचाँदी व्यवसायी महासंघको सिफारिस लिएर बैंकमार्फत सुनचाँदी लिँदै आएका व्यवसायीहरु बताउँछन् । 

बर्षौँदेखि सुनको अभाव झेल्नुपरेको भन्दै व्यवसायीले सुनको माग पूर्ति गर्न सरकारसँग माग गर्दै आएका छन् । जिल्लाका सुनचाँदी व्यवसायीले एक सातामा १ किलो सुन मात्रै पाउने गरेका छन् । एक किलो सुन थप गर्न सके बजारको माग धान्न सकिने अध्यक्ष विश्वकर्माको ठहर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष मोहनकुमार विश्वकर्मा भन्छन्, "हाम्रा व्यवसायीलाई मागअनुसारको सुन उपलब्ध गराएर व्यवसायीको फार्म अनुगमन गर्नुपर्छ ।"
जिल्लामा साना ठूला गरी करिब ५० वटा सुनचाँदी पसल रहेका छन् ।