बैंकिङ खबर । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले फिल्डमा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रभावकारी जोखिम व्यवस्थापन तालिम सम्पन्न गरेको छ । लघुवित्तले आरएमडीसी लघुवित्त वित्तीय संस्थाको सहकार्यमा संस्थाका १७ वटा शाखा कार्यालयका ५४ जना फिल्ड कर्मचारीहरुलाई तालिम दिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै संस्थाका अध्यक्ष बावुराम विश्वकर्माले सम्पूर्ण कर्मचारीहरुलाई सदैव संस्थाको हकहित र लक्ष्य प्राप्तिका लागि संस्थागत सुशासनलाई ख्याल गरी कार्य गर्न सुझाव दिए ।संस्थामा कार्यरत कर्मचारीहरुको निष्पक्ष रुपमा कार्यसम्पादन मूल्याङ्कन हुने र यस संस्थामै कर्मचारीहरुलाई अवसर प्रदान गरिने हुँदा संस्थागत हकहितको निमित्त उत्प्रेरित भई फिल्डमा कार्य गर्न उनले निर्देशन दिए ।
कार्यक्रममा बोल्दै सञ्चालक समितिका सदस्य तथा संस्थाका पूर्व अध्यक्ष रेवन्त बहादुर विश्वकर्माले एउटा वृक्षलाई जोगाउन जराहरुको महत्व भए जसरी नै संस्थाको लागि पनि फिल्ड कर्मचारीहरुको महत्व हुने भएकाले आफूमा भएको ज्ञान, सीप, क्षमता र अनुभवलाई भरपूण प्रयोग गरी संस्थाले तोकेको लक्ष्य पूरा गर्न कटिबद्ध भई कार्य गर्न आग्रह गरे ।
संस्थाको संक्षिप्त प्रगति विवरण प्रस्तुत गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत श्रीराम पोख्रेलले यस तालिमले कर्मचारीहरुको क्षमतामा अभिवृद्धि हुने र संस्था भित्र देखिने हरेक किसिमका जोखिमहरु न्यूनिकरण हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा लघुवित्त सञ्चालन प्रक्रिया, समुह तथा बैंकिङ्ग समुदाय व्यवस्थापन, कर्जा विश्लेषण तथा कर्जा सदुपयोगिता व्यवस्थापन, भाखा नाघेका कर्जाहरुको व्यवस्थापन, फिल्ड कर्मचारीहरुको भूमिका तथा दायित्व, सफ्टवयर तथा भौचिङ्ग, कर्मचारी उत्प्रेरणा तथा ग्राहक संरक्षण सिद्धान्त, जोखिम तथा कैफियतहरुको व्यवस्थापन लगाएतका विषयहरुमा संस्थाका विभिन्न विभागमा विभागीय जिम्मेवारीमा रही कार्यरत कर्मचारीहरु इन्द्र बराली, बसन्त पचभैया, भरत कुमार रसाली, सन्तोष रसाइली तथा शर्मिला विश्वकर्माले प्रशिक्षण गरेका थिए ।
संस्थाको हाल १९ जिल्ला कार्य क्षेत्र रहेको र ३९ वटा शाखा कार्यालय मार्फत करिव छत्तिस हजार समुह सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ ।