June 13th, 2016

ऋणबाट उम्कन रेमिट संचालकले नै नाटक गरेपछि  

illegalमनि ट्रान्सफरबाट पैसा चोरी भएको भन्दै साथीहरुबाट लिएको लाखौं ऋणबाट उम्कन खोज्ने एकजना मनिट्रान्सफरका सञ्चालक प्रहरीका फन्दामा परेका छन् । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ का मनिट्रान्सफरका सञ्चालक राजेशकुमार शाहलाई धनुषा प्रहरीले पक्राउ गरेको हो । 

प्रहरीका अनुसार उनले आफ्नो मनि ट्रान्सफरबाट चोरी भएको कुरा गाउँभरि पिटेका थिए । उनले अज्ञात समुहले चोरी गरेको भन्दै प्रचार गरेका थिए । त्यतिमात्रै होइन, शाहले चलाएको महेन्द्रनगरमा राष्ट्रिय बाणिज्य बैंकको भवन तल रहेको माँ आसिष ट्रेडर्स मनी ट्रान्सफरबाट चार दिनअघि रातको समयमा ३२ लाख चोरी भएको भन्दै प्रहरीमा उजुरी समेत दिएका थिए ।

घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले अनुसन्धानपछि सञ्चालकले दिएको चोरीको सूचना नै शंकास्पद भएको ठहर गरेको थियो । शाहले दिएको सूचना नै शंकास्पद भएको पत्ता लागेपछि पक्राउ गरी अनुसन्धान अघि बढाइएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी नकुल पोखरेलले जानकारी दिए ।

अनुसन्धानका क्रममा सञ्चालक शाहले पसलमा आफूले चोरी भएको नाटक गरी हल्ला फैलाएको स्वीकारेका छन् । उनले साथीहरुबाट लिएको ऋण तिर्न नसकेपछि ३२ लाख रुपैयाँ चोरी गरेको नाटक गरी हल्ला फैलाएको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

साथीबाट लिएको ३० लाख रुपैयाँ ऋण तत्काल चुक्ता गर्न नसक्ने अवस्था आएपछि शाहले यस्तो युक्ति रचेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । प्रहरीका अनुसार उनलाई झुठो हल्ला फिजाएको अभियोगमा मुद्दा दायर गरी थप अनुसन्धान सुरु गरिएको छ ।