Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

ऋणबाट उम्कन रेमिट संचालकले नै नाटक गरेपछि  

२०७३ जेष्ठ ३१ गते

illegalमनि ट्रान्सफरबाट पैसा चोरी भएको भन्दै साथीहरुबाट लिएको लाखौं ऋणबाट उम्कन खोज्ने एकजना मनिट्रान्सफरका सञ्चालक प्रहरीका फन्दामा परेका छन् । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ का मनिट्रान्सफरका सञ्चालक राजेशकुमार शाहलाई धनुषा प्रहरीले पक्राउ गरेको हो । 

प्रहरीका अनुसार उनले आफ्नो मनि ट्रान्सफरबाट चोरी भएको कुरा गाउँभरि पिटेका थिए । उनले अज्ञात समुहले चोरी गरेको भन्दै प्रचार गरेका थिए । त्यतिमात्रै होइन, शाहले चलाएको महेन्द्रनगरमा राष्ट्रिय बाणिज्य बैंकको भवन तल रहेको माँ आसिष ट्रेडर्स मनी ट्रान्सफरबाट चार दिनअघि रातको समयमा ३२ लाख चोरी भएको भन्दै प्रहरीमा उजुरी समेत दिएका थिए ।

घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले अनुसन्धानपछि सञ्चालकले दिएको चोरीको सूचना नै शंकास्पद भएको ठहर गरेको थियो । शाहले दिएको सूचना नै शंकास्पद भएको पत्ता लागेपछि पक्राउ गरी अनुसन्धान अघि बढाइएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी नकुल पोखरेलले जानकारी दिए ।

अनुसन्धानका क्रममा सञ्चालक शाहले पसलमा आफूले चोरी भएको नाटक गरी हल्ला फैलाएको स्वीकारेका छन् । उनले साथीहरुबाट लिएको ऋण तिर्न नसकेपछि ३२ लाख रुपैयाँ चोरी गरेको नाटक गरी हल्ला फैलाएको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

साथीबाट लिएको ३० लाख रुपैयाँ ऋण तत्काल चुक्ता गर्न नसक्ने अवस्था आएपछि शाहले यस्तो युक्ति रचेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । प्रहरीका अनुसार उनलाई झुठो हल्ला फिजाएको अभियोगमा मुद्दा दायर गरी थप अनुसन्धान सुरु गरिएको छ ।