June 14th, 2016

कच्चा तेल सस्तिँदा यस्तो प्रभाव देखियो भारतको रेमिट्यान्स आप्रवाहमा 

remittanceगैरआवासीय भारतीय (एनआरआई) ले पठाउने विप्रेषण (रेमिट्यान्स) अप्रिलमा ८७ प्रतिशतले घटेको छ । तेलको मूल्यमा गिरावटका कारण विप्रेषण घटेको रिजर्भ बैंक अफ इन्डियाको तथ्यांकले देखाएको छ । चालू वर्षको अप्रिलमा कुल एनआरआई निक्षेप ३० करोड २० लाख डलरमा झरेको छ । अघिल्लो वर्ष यो निक्षेप २ अर्ब ४० करोड ६० लाख डलर थियो । सबैभन्दा ठूलो गिरावट गैरआवासीय रुपैयाँ खाताको क्षेत्रमा देखा परेको छ । यो क्षेत्रको अप्रिल प्रवाहमा गिरावट आएर २० करोड ३० लाख डलर कायम भएको थियो । यो अघिल्लो वर्ष २ अर्ब २० करोड डलर थियो ।

आर्थिक वर्ष २०१५/१६ मा एनआरआई निक्षेपमा १३.५ प्रतिशतको वृद्धि भई १५ अर्ब ९७ करोड ७० लाख डलर पुगेको तथ्यांकले देखाएको छ । “भारतको विप्रेषणको ६० प्रतिशत खाडी मुलुकबाट आउने गरेको छ । यो क्षेत्र हाल कच्चा तेलको मूल्यमा आएको गिरावटबाट प्रभावित भएको छ । त्यसैले खाडी क्षेत्रमा बस्ने एनआरआईबाट आउने विप्रेषणमा पनि कमी आएको छ,” एल एन्ड टी फाइनान्स होल्डिङका ग्रुप प्रमुख अर्थशास्त्री रूपा रेज नित्सुरले भनिन् ।

तेलको मूल्य गिरावटको प्रभाव
अप्रिलमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ४८ डलर हाराहारी थियो । यो अघिल्लो वर्षको सोही अवधिको ६७ डलरको तुलनामा ठूलो अन्तरले कम हो । कच्चा तेलको मूल्य प्रतिब्यारेल मुस्किलैले ५० डलरमा पुगे पनि वार्षिक मापनका आधारमा यो अझै अत्यन्त न्यून हो । लामो अवधिसम्म विप्रेषणको प्रवाहमा कमी आयो भने यो नीति निर्माताहरूको चासोको विषय हुने स्टेट बैंक अफ इन्डियाका प्रमुख आर्थिक सल्लाहकार सौम्या कान्ति घोषले बताइन् । देशको चालू खाता घाटा (क्याड) चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा जीडीपीको १.३ प्रतिशतमा ओर्लिएको छ । यो गत वर्षको समान अवधिको १.५ प्रतिशतको दाँजोमा कम हो । न्यून व्यापार घाटाका कारण क्याडमा पनि कमी आएको हो ।

आर्थिक वर्ष २०१५/१६ को तेस्रो त्रैमासमा क्याड ७.१ अर्ब डलर थियो । यो आर्थिक वर्ष २०१४/१५ को तेस्रो त्रैमासको ७.७ अर्ब र दोस्रो त्रैमासको ८.७ अर्ब डलरको दाँजोमा कम भएको जनाइएको छ । एजेन्सी