कल डिपोजिट घटाउन राष्ट्र बैंकको नयाँ निर्देशन, निक्षेप संकलनमा सहयोग पुग्ने

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले कल निक्षेप (कल डिपोजिट) घटाउन बैंकहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले एक निर्देशन जारी गर्दै बैंक तथा वित्तीय संस्थालाई कल डिपोजिट १० देखि १५ प्रतिशतको सीमामा कायम राख्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकले वाणिज्य बैंकको कुल निक्षेपमा कल डिपोजिट अंश १० प्रतिशत नाघ्न नहुने व्यवस्था गरेको छ । भने विकास बैंक तथा वित्त कम्पनीको कुल निक्षेपमा कल डिपोजिटको अंश १५ प्रतिशत नाघ्न नहुने व्यवस्था गरेको छ ।

एक वर्षको अल्टिमेटम
हाल तोकिएको भन्दा बढी कल डिपोजिट भएका बैंक तथा वित्तीय संस्थालाई कल डिपोजिट घटाउन ०७७ असारसम्मको अल्टिमेटम दिइएको छ । गत चैतसम्मको तथ्यांकअनुसार २८ वटा वाणिज्य बैंकमध्ये १४ वटाको कल डिपोजिट १० प्रतिशतभन्दा बढी छ । तीमध्ये पनि एक(दुईवटाको कल डिपोजिट २५ प्रतिशतभन्दा धेरै छ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत राष्ट्र बैंकले वाणिज्य बैंकमा कल निक्षेपको सीमा १० प्रतिशत कायम गर्ने घोषणा गरेको थियो । सोही व्यवस्थालाई अहिले कार्यान्वयनमा ल्याइएको हो ।

के हो कल डिपोजिट ?
कल डिपोजिट कम समयका अवधिका लागि निक्षेप राख्ने एक किसिमको निक्षेप खाता हो । छिनछिनमा धेरै रकमको कारोबार गर्ने व्यक्ति वा व्यवसायीका लागि यो खाता उपयोगी हुन्छ । यस्तो खातामा तत्काल धेरै रकम बचत गरिन्छ तर रकम झिकिने टुंगो हुँदैन । प्रायः व्यवसायी तथा ठूला व्यावसायिक घरानाहरूले यही खातामा बचत गर्ने गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *