June 13th, 2016

कर्पोरेट ऋण नियन्त्रण नगरे चिनियाँ अर्थतन्त्रलाई खतरा

chinaअन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले चीनलाईे कर्पोरेट ऋण नियन्त्रण गर्न सुझाव दिएको छ । हाल चीनको कर्पोरेट ऋण लगातार रुपमा बढेर दोब्बर हुने स्थितीमा पुगेको छ । पछिल्लो समय कमजोर आर्थिक नतिजाको कारण समस्यामा रहेको चीनको आर्थिक सुधारका लागि कर्पोरेट ऋणमा देखिएको यो वृद्धिदर प्रमुख बाधक रहेको ठहर गर्दै आईएमएफले यस्तो सुझाव दिएको हो । 

यसअघि सार्वजनिक खर्चको नतिजा कमजोर रहेको भन्दै चीनले ऋण लिनका लागि केही सहज व्यवस्था लागू गरेको थियो । फलस्वरुप चीनको कर्पोरेट ऋणको नतिजा उल्लेख्य रुपमा बढेको हो । हाल चीनको समग्र ऋणको नतिजा २ सय २५ प्रतिशत बराबर रहेको छ भने कर्पोरेट ऋणको नतिजा १ सय २५ प्रतिशत बराबर रहेको छ । यसले चीनका लागि समग्र कर्पोरेट ऋण चुक्ता गर्न मात्रै १ वर्षभन्दा बढी समय लाग्ने देखिन्छ ।