Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

शैक्षिक प्रमाणपत्र धितो कर्जा एक करोड नाघ्यो

२०७६ जेष्ठ ७ गते

काठमाडौं । पछिल्लो समय शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिनेको चाप बढेको छ । सरकारले विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने व्यवस्था गरेपछि बैंक तथा वित्तीय संस्थाले उच्च शिक्षा अध्ययन क्षेत्रमा लगानी वृद्धि गर्न थालेको देखिएको हो ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाका अनुसार २०७५ चैत मसान्तसम्ममा बैंकले उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जामा १ करोड ३३ लाख रुपैयाँ लगानी गरेका छन् । यस अवधिमा ५५ जनाले यस्तो कर्जा लिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकले ५३ जनालाई १ करोड १८ लाख ८४ हजार र विकास बैंकले २ जनालाई १४ लाख ८६ हजार रुपैयाँ यस्तो कर्जा दिएका छन्् । सरकारको ५ प्रतिशत ब्याज अनुदानमा बैंकले यस्तो कर्जा उपलब्ध गराउँदै आएका छन् । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाबाट सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ अनुसार सो कार्यविधिमा भएको व्यवस्थाअनुसार सो कर्जा प्रवाह गरिएको हो ।

त्यस्तै, विदेशबाट फर्केर स्वदेशमै विभिन्न परियोजना सुरु गरेका ११ जना युवाले ७८ लाख १० हजार रुपैयाँ लगानी गरेका छन् । सरकारले विदेश जान निरुत्साहित गर्ने तथा स्वदेशमै स्वरोजगार बनाउने उद्देश्यले सुरु गरेको यस्तो कार्यक्रमअन्तर्गत वाणिज्य बैंकले मात्रै ऋण दिएको राष्ट्र बैंकले जनाएको छ । चैत मसान्तसम्म १४ हजार ९ सय २३ जनामा २५ अर्ब ३१ करोड ९५ लाख ७ हजार रुपैयाँ कर्जा लगानी भएको छ । जसमा सबैभन्दा बढी व्यावसायिक तथा पशुपन्छी कर्जामा ऋण प्रवाह भएको छ ।

व्यावसायिक तथा पशुपन्छीतर्फ १४ हजार ६ सय ३९ ले कर्जा लिएका छन् । चैतसम्म व्यावसायिक तथा पशुपन्छी कर्जा २५ अर्ब १८ करोड ३१ लाख ८ हजार रुपैयाँ लगानी भएको छ । जसमध्ये वाणिज्य बैंकले १४ हजार २ सय १२ जनालाई २३ अर्ब ६१ करोड ८८ लाख ८२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । त्यसैगरी, विकास बैंकले ४ सय २३ जनालाई १ अर्ब ४९ करोड १० लाख २२ हजार रुपैयाँ तथा फाइनान्स कम्पनीले चार जनालाई ७ करोड ३२ लाख ४ हजार रुपैयाँ कर्जा लगानी गरेको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, शिक्षित युवा स्वरोजगार कर्जा २५ लाख रुपैयाँ प्रवाह भएको छ । जुन कर्जा ६ जनाले मात्रै लिएका छन् । यो कर्जा वाणिज्य बैंकहरूले मात्रै उपलब्ध गराएका छन् ।

सहुलियत कर्जामा महिला उद्यमशील कर्जामा पनि आकर्षण देखिएको छ । चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले १ सय ७० जनालाई ९ करोड ७६ लाख ४ हजार रुपैयाँ कर्जा लगानी गरेका छन् । जसमध्ये वाणिज्य बैंकले १ सय ६६ जनालाई ९ करोड ५६ लाख ४८ हजार रुपैयाँ कर्जा लगानी गरेका छन् । त्यस्तै, विकास बैंकले चारजनालाई १९ लाख ५७ हजार रुपैयाँ कर्जा लगानी गरेको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, भूकम्पपीडितको निजी आवास निर्माण गर्न २७ जनाले ७२ लाख ४४ हजार रुपैयाँ कर्जा लिएका छन् । यस्तो कर्जा वाणिज्य बैंकहरूले २३ जनालाई ६१ लाख २४ हजार र विकास बैंकहरूले चार जनालाई ११ लाख १९ हजार रुपैयाँ कर्जा प्रवाह गरेका छन् । राजधानी दैनिकमा प्रबाशित समाचार 

Ad