नेपाल राष्ट्र बैंकका गभर्नर डाक्टर चिरञ्जिबी नेपालले देशलाई गाली गर्न छाडेर अवसरको सदुपयोग गर्न आम युवाहरुलाई आह्वान गरेका छन् । राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मिडिया इन्टरनेशनलले आयोजना गरेको समृद्धिको बाटो नामक बृहत अन्तरक्रिया कार्यक्रममा बोल्दै गभर्नर डा. नेपालले नेपालमै उद्यमी बन्न सक्ने प्रशस्त अवसरहरु रहेको भन्दै स्वदेशमै रहेका अवसरहरुको सदुपयोग गर्न युवाहरुलाई आह्वान गरेका हुन् । ‘नेपालमा जहाँ जे फालेपनि उम्रिन्छ’, उनले भने, ‘अर्काको नोकर हुन विदेशिनुभन्दा हाम्रो लागि अवसरको रुपमा रहेको यही भूमिलाई सदुपयोग गरौँ भनेर म विदेशिन चाहने युवाहरुलाई आह्वान गर्न चाहन्छु ।’ बार्षिक ८ अर्बको तरकारी आयात गरिरहनुपरेको स्मरण गराउँदै डा. नेपालले भने, ‘सबैभन्दा ठूलो जाँगर हो, हामी अल्छि भयौँ, हामीले सोच विकसित गर्न सकेनौँ, त्यसैले त यति अनुकुल भूमि हूँदाहुँदै हामी तरकारी किनेर खाईरहेका छौँ ।’
नेपालमै केही गर्नेका लागि सरकारले पाँच प्रतिशतको न्यून व्याजदरमा ऋणको व्यवस्था गरेको भन्दै उनले बैंक तथा वित्तीय संस्थाहरु पैसा लिएर पर्खेर बसेको औँल्याए । साथै उनले पाँच प्रतिशत व्याजदरमा १५ सय जनाले कर्जा लिएको जानकारी समेत दिए । गभर्नर नेपालले उत्पादनमूलक कार्य गर्नका लागि यदि कसैले न्युन ब्याजदरमा ऋण नपाएको भए सिधै राष्ट्र बैंकमा आउन आह्वानसमेत गरे । ‘पाँच प्रतिशतको न्यून ब्याजदरमा ऋण १५ सयजनाले लिएका छन् ।’ उनले भने, ‘यदि कसैले पाउनुभएको छैन भने सिधै राष्ट्र बैंक आउनुस् ।’ सरकारले हालै कृषकहरुका लागि पाँच प्रतिशतमा कृषि कर्जाको व्यवस्था गरेको छ ।