June 12th, 2016

समृद्धिका लागि राजनीति बाधक भएको ठहर

programआर्थिक क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाहरुको सहकार्य तथा मिडिया इन्टरनेशनलको मुख्य आयोजनामा ‘समृद्धिको बाटो’ नामक बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आईतबार सम्पन्न कार्यक्रममा आर्थिक क्षेत्रका विशिष्ट व्यक्तिहरु, सरकारी अधिकारी, उत्पादनमूलक क्षेत्रमा प्रगति गरेका सफल उद्यमीलगायतको सहभागीता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथिका रुपमा रहेका नेपाल राष्ट्र बैंकका गभर्नर डाक्टर चिरञ्जिबी नेपालले समृद्धिको बाटोजस्ता कार्यक्रमले उत्पादनशील क्षेत्रमा क्रियाशील कृषक तथा उद्यमीलाई हौसला प्रदान गरेको बताए । उनले मुलुक समृद्ध बनाउन सरकारको जतिनै नागरिकको पनि भूमिका रहने बताए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले छोटो समयमा नै नेपाललाई समृद्ध मुलुकको रुपमा विकास गर्न सकिने दाबी गरे । नेपालमै प्रशस्त संभावना भएका क्षेत्रहरु, जलविद्युत, कृषि, हस्तकलाका सामाग्री, जडिबुटिलगायतबाट मुलुकलाई समृद्ध पार्न सकिने बताउँदै उनले त्यसका लागि सरकारले राजनीतिक स्वार्थभन्दा माथि उठेर नीति निर्माण र उचित बातावरण बनाउनुपर्ने बताए ।

कृषि विकास मन्त्रालयका प्रवक्ता योगेन्द्र कार्कीले समृद्धिका लागि उत्पादनशील क्षेत्रमा लागेकाहरुलाई प्रोत्साहन गर्नुपर्छ भन्ने कुरा बुझेर सरकारले कृषीको क्षेत्रमा प्रभावकारी कार्यक्रमहरु ल्याएको बताए । सरकारले हालै ल्याएको कार्यक्रमहरु लागु हुन सकेमा पाँच वर्षभित्र नेपाल कृषिजन्य उत्पादनमा आत्मनिर्भर हुन सक्ने उनको दाबी थियो ।

नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले समृद्धिको बाधक सरकार नै भएको आरोप लगाए । निजि क्षेत्रलाई सरकारले पूर्वाग्रही भएर हेरेको बताउँदै उनले निजि क्षेत्रलाई प्रोत्साहन गरी ढुक्कसंग लगानी गर्न सक्ने बातावरण सरकारले मिलाइदिए देश विकास हुन धेरै समय नलाग्ने दाबी गरे ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक इश्वरी प्रसाद घिमिरेले मुलुक समृद्ध हुन भाषणभन्दा बढी काम हुनुपर्ने बताए । चालु आर्थिक वर्षको ९ महिनायता चार सय ६४ अरब व्यापार घाटा भएको औँल्याउदै उनले अझै पनि काम गर्न सुरु गर्ने हो भने आत्तिनुपर्ने अवस्था नरहेको बताए ।

राष्ट्रिय व्यापार संघका अध्यक्ष नयनबहादुर पण्डीत क्षेत्रीले विशेषगरी भन्सार सम्बन्धी समस्या, व्यापार व्यवसायमा उठेका नीतिगत समस्या, मिसम्याचको समस्या एवं न्यून विजकिकरण लगायतका समस्याहरु आफूहरुले भोगीरहेको बताए । मुलुक विकासमा व्यवसायीहरुको पनि महत्वपूर्ण भूमिका रहने बताउँदै उनले सरकारले व्यवसायीहरुको समस्यालाई पनि बुझिदिनुपर्ने बताए ।

अस्ट्रिज नेपाल प्रालिका अध्यक्ष एवम अस्ट्रिज व्यवसायी सीपी शर्माले सफल बन्न निरन्तर प्रयास आवश्यक पर्ने बताए । कुनै बेला असफल व्यवसायीजस्तै भएको बताउने शर्माले हाल ११ सय जनालाई स्वरोजगार बनाएको दाबी गरे । उनी नेपालमै पहिलो पटक अस्ट्रिज पाल्ने सफल व्यवसायी मानिन्छन् ।

नेपालका चर्चित औषधी उत्पादक उमेशलाल श्रेष्ठले देशमा भएका उद्योगीहरुलाई प्रोत्साहन गर्न सरकार चुकेको टिप्पणी गरे । उनले देशमा भएका उद्योगीहरुलाई निरुत्साहित गर्नुको साटो उत्साहित गर्ने हो भने मुलुकमा विदेशी लगानीकर्तालाई गुहारिरहनु नपर्ने बताए । श्रेष्ठ नेपालको औषधी उत्पादनको क्षेत्रमा अग्रणी उत्पादक मानिन्छन् ।

पोल्ट्री व्यवसायी गुणचन्द्र विष्टले जाँगर र साहस हुनेलाई कृषिको क्षेत्रमा थुप्रै अवसरहरु रहेको उल्लेख गरे । आफु पोल्ट्री व्यवसायमा संलग्न रहेकाले सबैभन्दा धेरै सम्भावना पोल्ट्री व्यवसायकै देखेको उनको भनाई थियो । विष्ट पोल्ट्री व्यवसायको क्षेत्रमा नेपालमै सफल व्यवसायीमा गनिन्छन् ।

आयोजक संस्था मिडिया इन्टरनेशनलका अध्यक्ष एवं कार्यक्रमका सभापति माधव निर्दोषले मुलुक समृद्ध हुन नागरिक स्वयम क्रियाशील हुनुपर्ने बताए । थोरै पुँजी र निम्न स्तरबाट संघर्ष गरेर आफुलाई देशको समृद्ध, सफल र उदाहरणीय कृषक तथा उद्यमीका रुपमा स्थापित गरेका हस्तिहरुलाई कार्यक्रममा बोलाएर चिनाउन पाउँदा अत्यन्तै खुशी लागेको बताउँदै उनले समृद्धिको बाटो तीनै सफल व्यक्तिहरुलाई हेरेर तय गर्न सबैलाई आह्वान गरे । निर्दोष लामो समयदेखि नेपालको विकास आर्थिक क्रान्तिबाटमात्र सम्भव हुने भन्दै उत्पादनमूलक क्षेत्रमा क्रियाशील जनशक्तिहरुलाई हौसला प्रदान गर्ने खालका विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएका आर्थिक क्षेत्रका प्रभावशाली पत्रकार मानिन्छन् ।  

program 1कार्यक्रममा उत्पादनशील क्षेत्रमा लामो समय लागेर सफलता हात पारेका उद्यमीहरु कल्पना योङहाङग लिम्बु, रामशरण विक, कृष्णचन्द्र महर्जन, उमेश लामा, रामबहादुर गौतम, होमनाथ उपाध्याय, उमेशलाल श्रेष्ठ, ढकेश्वर घिमिरे, सीपी शर्मा, शोभाकान्त बस्याल, गुणचन्द्र विष्टले ग्राउण्ड लेभलबाट संघर्ष गरेर हाँसिल गरेको उपलब्धि र त्यसबाट मुलुकलाई भएको फाइदालाई समेटेर बनाइएको बृत्तचित्र समेत प्रदर्शन गरिएको थियो ।

यसैबीच सोही कार्यक्रमको अवसर पारेर बैंकिङ खबरले राखेको सूचनामूलक स्टलको सैयौँ सहभागीहरुले अवलोकन गरेका छन् । प्रज्ञा भवनमा राखिएको स्टलमा अवलोकन गर्न आउनेहरुले बैंक तथा वित्तीय क्षेत्रसम्बन्धी विभिन्न सूचनामूलक स्टलहरुको अवलोकन गर्नुका साथै त्यससम्बन्धी जिज्ञासा समेत राखेका थिए । बिहान ११ बजेदेखी साँझ पाँच बजेसम्म राखिएको स्टल आर्थिक क्षेत्रका विभिन्न व्यक्तिहरु, विद्यार्थीलगायतले अवलोकन गरेका थिए ।