चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा २० प्रतिशतले नाफा बढाएका बैंकलाई चौथो त्रैमासमा सोही अनुपातमा नाफा कमाउन भने सकस पर्ने भएको छ । चैतमा बैंकहरूले आधार ब्याजदर घटाएको र स्प्रेड दर पनि ४.७५ प्रतिशतमा झारेको हुनाले नाफा घट्ने भएको हो । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई चैत मसान्तसम्मा निक्षेप र कर्जाको ब्याजदर अन्तर ५ बाट घटाएर ४.७५ र चालू आर्थिक वर्षको अन्त्यसम्ममा ४.५ प्रतिशतमा झार्न निर्देशन दिइसकेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकहरूले आधार ब्याजदर पनि घटाएनन् । निक्षेपको ब्याजमा भद्र सहमति गरे । तर, कर्जाको ब्याजदर भने स्प्रेडमा खेल्न मिल्नेसम्म बढाएको हुनाले तेस्रो त्रैमासमा नाफा वढेको छ । तेस्रो त्रैमाससम्ममा २८ वाणिज्य बैंकले २ खर्ब २२ अर्ब ४३ करोड रुपैयाँ ब्याज आम्दानी गरेर १ खर्ब २८ अर्ब ९२ करोड रुपैयाँ ब्याज खर्च गरेका छन । यो अवधिमा बैंकहरूले ९३ अर्ब ५० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन् ।
बैंकहरूको ब्याजदर उच्च भयो भनेर उद्योगी व्यवसायीहरूले समेत विरोध गरेपछि चौथो त्रैमासदेखि आधार ब्याजदर घटाउन थालेका हुन् । उच्च ब्याजदरलाई नियन्त्रण गर्न भन्दै केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत चैत मसान्तपछि ४.७५ र असार मसान्तपछि ४.५ प्रतिशतमा झार्नुपर्ने व्यवस्था गरेको छ । वित्तीय प्रणालीको ब्याजदर अत्यधिक चलायमान भए पनि केन्द्रीय बैंकले हस्तक्षेप गर्दा समेत व्याजदर सन्तुलन हुन नसकेको अवस्था हो । अहिले बैंकिङ क्षेत्रको औसत आधार ब्याजदर ९.६९ प्रतिशत रहेको छ । त्यसैगरी समग्र बैंकिङ प्रणालीको औसत स्प्रेडरेट पनि ४.३९ प्रतिशत रहेको छ । जुन केन्द्रीय बैंकले तोकेको सीमाभित्रै हो । पुस मसान्तसम्मको तुलनामा चैतसम्म मसान्तसम्ममा २२ वाणिज्य बैंकले आधार ब्याजदर घटाएका छन् । यो अवधिमा सबैभन्दा धेरै मेगा बैंकले ०.६३ प्रतिशतले आधार दर घटाइ १०.२० प्रतिशतमा झारेको छ । यो अवधिमा सबैभन्दा थोरै एनसीसी बैंकले ०.१ प्रतिशतमात्र आधार ब्याजदर घटाएर १०.८६ मा झारेको छ । चैत अन्त्यसम्ममा सबैभन्दा धेरै आधार ब्याजदर जनता बैंकको ११.६६ प्रतिशत रहेको छ । यो अवधिमा सबैभन्दा थोरै राष्ट्रिय बाणिज्य बैंकको ५.३८ प्रतिशत आधार दर कायम रहेको छ । राष्ट्रिय वाणिज्य बैंकले यो अवधिमा ०.२२ प्रतिशतले आधार ब्याजदर बढाएको हो । कारोबार आर्थिक दैनिकमा प्रकाशित समाचार