२०७३ जेष्ठ ३० गते

नेपालमा लगानी बढाउने अमेरिकाको प्रतिवद्धता, अरु कुनकुन क्षेत्रमा बढाउँदैछ सहयोगको हात ?

tifaसंयुक्त राज्य अमेरिकाले नेपालसँगको व्यापार तथा लगानी विस्तार गर्ने भएको छ । शुक्रबार अमेरिकाको वासिङ्टन डिसीमा सम्पन्न वाणिज्य मन्त्रीस्तरीय दोस्रो व्यापार तथा लगानी फ्रेमवर्क सम्झौता (टिफा) काउन्सिल बैठकमा २ देशबीच यस्तो सम्झौता भएको हो । नेपालको आर्थिक वृद्धिमा सघाउन तथा रोजगारीको अवसर सिर्जना गर्न अमेरिकाले लगानी बढाउने प्रतिबद्धता जनाएको हो । 

अनुकूल नीति निर्माण गर्दै द्विपक्षीय व्यापार तथा लगानी सम्बन्ध विस्तार गर्न नेपाल–अमेरिकाबीच सम्झौता भएको जनाइएको छ । “अमेरिकाले विश्व वस्तुको मूल्य शृङ्खला (भ्यालु चेन) एकीकृत गर्ने, सीमित आपूर्तिको क्षमता वृद्धि गर्ने र ६६ नेपाली वस्तुको सहज बजार पहुँचको उपयोग गर्नका लागि सम्भावनाका खोजी गरी व्यापार क्षमता अभिवृद्धि गर्न सहयोग गर्ने भएको छ,” दुवै देशद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “व्यापार अभिवृद्धि गर्न बौद्धिक सम्पत्तिसम्बन्धी अधिकार एवं नीति तथा कानुनमा सहयोग गर्ने सहमति भएको छ ।” 

नेपाली वस्तुलाई बजार पहुँचमा सहजीकरण गर्ने, भन्सार तथा व्यापारमा सहजीकरण गर्ने, बौद्धिक सम्पत्तिसम्बन्धी अधिकार र सेनेटरी एन्ड फाइटोसेनेटरी (एसपीएस) र खाद्य सुरक्षा, वस्तुको स्तरमा एकरूपता, सेवा व्यापार र श्रमसम्बन्धी छलफल निरन्तर हुने सम्झौता भएको छ । टिफा काउन्सिल बिहीबारदेखि सुरु भएको थियो । अगामी बैठक सन् २०१७ मा नेपालमा हुने भएको छ ।