May 14th, 2019

स्प्रेड बढाएपछि बैंकको नाफा २० प्रतिशतले वृद्धि

चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकहरूले कर्जा प्रवाह नियन्त्रण गरे पनि नाफा भने २० प्रतिशतले बढाएका छन् । यस अवधिमा बैंहरूले भद्र सहमति गरेर निक्षेपको ब्याजदर निश्चित गरे पनि कर्जाको ब्याज नघटाइ स्प्रेडमा खेलेर नाफा बढाएका हुन् ।  गत आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकहरूको खुद नाफा १५.४५ प्रतिशतले बढेको थियो । आर्थिक २०७३÷७४ चैतमा बैंकहरूको खुद नाफा ३२ प्रतिशतले बढेको थियो । बैंकहरूले नेपाल राष्ट्र बैंकले तोकेको ८ अर्ब चुक्ता पुँजी पु¥याएपछि आम्दानीमा निरन्तर दबाब परेको देखिन्छ । आम्दानी बढाउने होडमा बैंकहरूले आक्रामक रूपमा कर्जा प्रवाह गर्दा वित्तीय प्रणालीमा कर्जायोग्य रकम (तरलता) अभाव तथा निक्षेपमा समेत कमी देखियो । संस्थामा पुँजी लगानी थपेका सेयरधनीलाई प्रतिफल दिने दबाबका कारण पनि वित्तीय प्रणालीको समस्या समाधानभन्दा नाफा बढाउनमै बैंकहरू उद्यत देखिएका छन् । त्यसैको प्रभावस्वरूप चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकहरूको नाफा २० प्रतिशतले बढेको छ । 

उच्च ब्याजदरको आलोचना झेलेका बैंकहरूले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा आधार ब्याजदर पनि घटाएका छन । तर, पनि कर्जाको ब्याजदर भने घटेको छैन । बैंकहरूले निक्षेपको ब्याजदरमा भद्र सहमति गरेर कर्जाको ब्याजदर नघटाएपछि नाफा बढेको हो । चालू आर्थिक वर्षको चैतसम्ममा २८ वाणिज्य बैंकको करपछिको नाफा ४५ अर्ब ६६ करोड ९२ लाख रुपैयाँ पुगेको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७ अर्ब ६० करोडले धेरै हो । गत आर्थिक वर्षको ९ महिनामा बैंकहरूले ३८ अर्ब ६ करोड १६ लाख रुपैयाँ नाफा गरेका थिए ।
बैंकहरूको नाफा २० प्रतिशतले बढ्नु समग्र वित्तीय क्षेत्रका लागि सकारात्मक रहेको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहालले बताए । “बैंकहरूको प्रोभिजनिङ बढेकाले नाफा अझै कम भएको हो,” उनले भने, “बैंकहरूको नाफा बढ्नुको मुख्य कारण भनेको यो अवधिको स्प्रेड बढाएकाले नै हो ।” बैंकहरूले अहिले घटाएको आधार ब्याजदरको असर आगामी त्रैमासमा देखिँदा नाफामा असर गर्ने दाहाल बताउँछन् । बैंकहरूले आक्रामक भएर लगानी विस्तार गर्दा प्रोभिजनिङसमेत बढेको उनी बताउँछन् ।
चालू आवको चैम मसान्तसम्ममा बैंकहरूको खुद ब्याज आम्दानी पनि ३७ प्रतिशतले वढेको छ । यो अवधिमा बैंकहरूले पुँजी कर्जा तथा निक्षेप(सीसीडी) रेसियो कसिलो अवस्थामा भए पनि भद्र सहमतिले निक्षेपको ब्याजदर नियन्त्रण गरेर कर्जाको नघटाएपछि खुद ब्याज आम्दानी पनि बढेको छ । चैतसम्ममा बैंकहरूले ९३ अर्ब ५० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन् । गत आवको सोही अवधिमा बैंकहरूले ६७ अर्ब ७७ करोडमात्र खुद ब्याज आम्दानी गरेका थिए । 
चालू आवको तेस्रो त्रैमासमा सबैभन्दा धेरै नाफा गर्नेमा सरकारी लगानी भएको राष्ट्रिय वाणिज्य बैंक रहेको छ । बैंकले यो अवधिमा ३ अर्ब ४९ करोड ९३ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकको यो नाफा गत आवको सोही अवधिको तुलनामा ४१ करोडभन्दा धेरैले बढी हो । चालू आवको चैतसम्ममा ३ बैंकहरूको नाफा वृद्धिदर घटेको छ । सो अवधिमा नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल बैंक र सेञ्चुरी कमर्सियल बैंकको नाफा वृद्धिदर घटेको हो ।

२ अर्बभन्दा धेरै नाफा गर्ने ८ बैंक 
चालू आवको चैत मसान्तसम्ममा ३ अर्बभन्दा बढी नाफा गर्ने बैंकको संख्या भने ६ वटाले बढेर ८ पुगेको छ । गत आवको सोही अवधिमा २ बैंकले मात्र २ अर्बभन्दा माथि खुद नाफा गरेका थिए । चालू आवको तेस्रो त्रैमासमा ३ सरकारी लगानी भएका र ५ निजी प्रवद्र्धक रहेका बैंकले २ अर्बभन्दा माथि नाफा कमाएका छन् । राष्ट्रिय बाणिज्य बैंकसहित निजी क्षेत्रको नबिल बैंकले ३ अर्बभन्दा बढी नाफा गरे भने एभरेष्ट बैंक, एनआईसी एसिया, हिमालयन बैंक, नेपाल बैंक, कृषि विकास बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले २ अर्बभन्दा धेरै नाफा गरेका छन् । कारोबार दैनिकमा प्रकाशित समाचार 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]